दुई दिने बिदा व्यावहारिक छैन : चौधरी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दुई दिने बिदा व्यावहारिक छैन : चौधरी


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । उद्योगी व्यवसायी तथा नेपाली काँग्रेस सांसद विनोद चौधरीले आइतबार र शनिबार दुई दिन बिदा दिने सरकारको निर्णय व्यावहारिक नरहेको बताएका छन् ।

आज (मंगलबार) संघीय संसद् अन्तर्गतको अर्थ समितिमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् । ‘नेपालमा श्रमको लागत बढी (लेबर कष्ट हाई) छ । उत्पादन कम छ । वर्षमा १६५ दिन बिदा पुग्न लागिसक्यो,’ चौधरीले भने, ‘बरु जोरबिजोर लागू गर्न सकिन्छ । तर दुई दिन छुट्टी प्रत्युत्पादक (काउन्टर प्रोडक्टिभ) हुन्छ ।’

एकातिर सरकारको सेवा प्रवाह प्रणाली कमजोर हुने र अर्कोतिर काम गर्ने दिन र समय घटाइनुले उत्पादन घटाउने चौधरीको भनाइ छ ।

पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि दुई दिन बिदा दिने व्यवस्था प्रत्युत्पादक हुने बताए । यो व्यवस्था निजी क्षेत्रका लागि अझ बढी घात छ ।

‘विकासशील देशले झन् बढी पो काम गर्नु पर्छ । बिदा बढाएर अल्छी हुने होइन’, पाण्डेले भने ।

सरकारले इन्धनको खपत घटाउन भन्दै सातामा दुई दिन आइतबार र शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसले खासगरी अस्पताल, विद्यालय लगायत क्षेत्रमा नकारात्मक असर पार्ने भन्दै विज्ञहरुले सच्याउनुपर्ने बताउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस