पोखराको मतगणना अन्तिम चरणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोखराको मतगणना अन्तिम चरणमा


९ जेष्ठ २०७९, सोमबार


कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा कूल एक लाख ४३ हजार २२६ मत खसेकामा आज मध्यान्ह १२ः३० बजेसम्म एक लाख २५ हजार ५२० मतको गणना सकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज रातिसम्म पोखराका सबै वडाको अन्तिम परिणाम सार्वजनिक हुने जनाएको छ ।

पोखरामा अब १७ हजार ७०६ मत गन्न बाँकी छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्मको अद्यावधिक विवरणअनुसार सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले चार हजार २९ मतको अग्रता बनाएका छन् ।

आचार्यले ५० हजार ६१२ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी नेकपा(एमाले)का कृष्णबहादुर थापाले ४६ हजार ५८३ मत प्राप्त गरेका छन् । गणना अन्त्यतिर पुग्नै लाग्दा आचार्यले मतान्तर फराकिलो बनाएका हुन् ।

मतगणनाको सुरुआतदेखि नै अग्रता बनाएका आचार्यले मतगणना अन्तिम चरणमा पुग्दासम्म आफ्नो अग्रता कायमै राख्न सफल भए ।

महानगर प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ३३७ मत प्राप्त गरेका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार गणेश पौडेलको दुई हजार ८६४ मत ल्याएका छन् ।

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा(एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता कायमै छ ।

गुरुङले ५३ हजार १७३ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका कोपिला रानाभाटको ४९ हजार ५८६ मत रहेको छ । गठबन्धनका उम्मेदवार रानाभाट तीन हजार ५८७ मतले पछाडि परेकी छन् ।

मतगणनाको सुरुआती चरणदेखि अग्रता बनाएकी रानाभाटलाई अन्तिम चरणमा गुरुङले पछि पारे । उपप्रमुखमा राप्रपाका रञ्जना सेनको पाँच हजार ३१८ मत रहेको छ ।

पोखरामा हालसम्म २५ वडाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

महानगरका ३३ वडामध्येमा हालसम्म नेपाली काँग्रेसले १८ वडामा जित हासिल गरेको छ । नेकपा एमालेले सात वडा जितेको छ ।

अहिले वडा नं १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस