वीरगञ्ज महानगर : मेयरमा राजेशमान र उपमेयरमा इम्तियाजको जित निश्चित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वीरगञ्ज महानगर : मेयरमा राजेशमान र उपमेयरमा इम्तियाजको जित निश्चित


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । वीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह र उपमेयरमा नेपाली काँग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेपछि राजेशमान र इम्तियाजको जित सुनिश्चित भएको हो ।

वीरगञ्जमा १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेकोमा ९३ हजार ७ सय ८२ मत खसेको थियो । ७७ हजार ५७७ मत गणना भइसकेको भने अब १६ हजार २०५ मत गणना हुन बाँकी छ ।

तर जसपाका मेयर उम्मेदवार राजेशमान सिंह नेकपा एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा १८ हजार ७५८ मत अन्तरले अगाडि छन् ।

यो गणना हुन बाँकी १६ हजार २०५ मतभन्दा २ हजार ५५३ मत बढी हो । त्यसैले राजेशमानको जित सुनिश्चित भएको हो । राजेशमानले ३८ हजार ४३७ र सरावगीले १९ हजार ६७९ मत ल्याएका छन् ।

मेयर पदका अर्का प्रत्याशी राप्रपाका गिरीश गिरीले ३ हजार ४५८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा पनि गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका इम्तियाज आलमले सुरुदेखि नै अग्रता लिइरहेका छन् । उनले निकटतम अर्का प्रत्याशी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले भन्दा झन्डै ४ गुणा बढी मत ल्याएका छन् ।

इम्तियाजले २४ हजार ९१५ मत पाउँदा झाले हालसम्म ६ हजार ५६८ मत मात्रै पाएका छन् । उनीहरूबिच १८ हजार ३४७ को मतान्तर देखिएको छ । उपमेयरमा पनि इम्तियाजको जीत निश्चित भएको छ ।

हालसम्म मेयर पदमा १६ हजार २८५ र उपमेयरमा ३५ हजार ३६८ मत बदर भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस