धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार हमाल दोब्बर मतले अगाडि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार हमाल दोब्बर मतले अगाडि


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बरभन्दा धेरै मतले अग्रता बनाएका छन् ।

यहाँ काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनबाट निवर्तमान मेयर वड उम्मेदवार छन् ।

तर, स्वतन्त्र उम्मेदवार हमाल गठबन्धनका उम्मेदवार वडले प्राप्त गरेकोभन्दा दोब्बर मतले अगाडि छन् ।

हमालले ७ हजार ८१६ मत प्राप्त गर्दा काँग्रेसका निवर्तमान मेयर वडले ३ हजार ८७२ मत पाएका छन् ।

हमाल र वडबीचको मतान्तर ३ हजार ९ सय ४४ छ । अहिलेसम्म करिब २० हजार मतगणना हुँदा हमालले प्रतिस्पर्धीको मतभन्दा धेरै मतको अग्रता बनाएका हुन् ।

यहाँ एमालेका रनबहादुर चन्दले १ हजार ९२१ मत मात्रै प्राप्त गरेको छन् । उपमेयरमा भने सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार शान्तिकुमारी अधिकारीले ३ हजार ४१६ मत पाएकी छिन् ।

एमालेकी कन्दकलाकुमारी रानाले ३ हजार ३०७ मत र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १९०० मत पाएका छन् । २०७४ को निर्वाचनमा यहाँ काँग्रेसले एकलौटीरुपमा जितेको थियो ।

त्यो बेला हमालले दोस्रो स्थान लिएका थिए । यस पटक काँग्रेसले अरु तीन दलसँग गठबन्धन गरेको छ । तर, पनि हमालले अग्रता बनाएका छन् ।

उद्योग वाणिज्य सङ्घको अध्यक्ष भएर काम गरिसकेका हमाल यहाँ सामाजिक कार्य गरेर लोकप्रिय छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस