गुल्मीको मालिका गाउँपालिकामा एमाले नील « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गुल्मीको मालिका गाउँपालिकामा एमाले नील


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । गुल्मीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली काँग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा निर्वाचित भएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको एमालेले यसपटक वडामा सदस्यसमेत जित्न सकेन ।

अध्यक्षमा निर्वाचित माओवादीका अर्यालले ६ हजार १७६ मत ल्याएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका अर्यालले ६ हजार ३३४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिकामा अध्यक्षमा निर्वाचित माओवादीका अर्यालको निकटतम प्रतिस्पर्धी एमालेका रीतबहादुर थापाले ४ हजार ६१७ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा निर्वाचित नेपाली काँग्रेसका उपेन्द्र अर्यालका निकटतम प्रतिस्पर्धी एमालेकै रनमाया पुनले ४ हजार ६९२ मत पाएकी छन् ।

गाउँपालिकामा रहेका वडाहरूमा एमालेले सदस्य समेत जित्न सकेको छैन । मालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेस बिच चुनावी तालमेल भएको थियो । तालमेल अनुसार सबै वडामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिकामा रहेका ८ वटा वडाहरूमध्ये ७ वटा वडामा नेपाली काँग्रेस र एउटा वडामा माओवादी केन्द्रले जितेको छ । जसअनुसार वडा नम्बर १, २, ४, ५, ६, ७, ८ मा नेपाली काँग्रेस र ३ मा माओवादीले वडाध्यक्ष जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिकामा १७ हजार ७२३ जना मतदाता रहेकोमा ११ हजार ५८० जनाले मतदान गरेका थिए । यो गाउँपालिकामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा अध्यक्षमा र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।

जिल्लाका १२ वटा स्थानीय तहहरू मध्ये ९ वटा स्थानीय तहको मतगणना सकिएको छ । सकिएका मतगणना अनुसार रेसुङ्गा, गुल्मीदरवार, ईस्मा र मदानेमा नेपाली काँग्रेसले जितेको छ । चन्द्रकोट र धुर्कोट, मालिका माओवादी केन्द्रले जितेको छ । छत्रकोट र सत्यवतीमा एमालेले जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस