काठमाडौँ । वाणिज्य बैङ्कहरूको निक्षेपमा झिनो सुधार देखिएको छ ।
वैशाख तेस्रो साताको तुलनामा चौथो सातामा वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन रु पाँच अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वैशाख चौथो सातामा वाणिज्य बैङ्कहरूको कूल निक्षेप ४३ खर्ब ७३ अर्ब पुगेको छ । वैशाख १६ गतेसम्म ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा पाँच अर्ब बढेर ४३ खर्ब ७३ अर्ब पुगेको हो ।
वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो साता केही सुधार देखिएको छ । वैशाख चौथो साता निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । तेस्रो साता ४१ खर्ब ९३ अर्ब कर्जा लगानी भएकोमा चौथो सातामा ४१ खर्ब ९७ अर्ब बराबर कर्जा लगानी भएको हो ।
गत साताको तुलनामा कर्जा लगानीमा चार अर्बले कमी आएको छ । बैङ्कहरूले गत फागुन चौथो साता ४३ खर्ब ८९ अर्ब निक्षेप सङ्कलन र ४१ खर्ब ९७ अर्ब कर्जा लगानी गरेका थिए । सङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैङ्कहरूको सिडी रेसियो ९०.८१ प्रतिशत पुगेको छ ।