काठमाडौँ । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस तनहुँले दमौलीमा आयोजना गर्ने चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ जाँदै छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शनिबार आयोजना हुने सभालाई सम्बोधन गर्न काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दमौली जान लागेका हुन् ।
सभालाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता .डा प्रकाशशरण महतले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
व्यास नगरपालिका–३ अनसन चौतारीमा चुनावी सभा आयोजना गरिएको छ ।
नेपाली काँग्रेसबाट सदरमुकाममा रहेको व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै उम्मेदवार छन् ।
नगरप्रमुख न्यौपाने दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।