चुनाव र असुरक्षा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चुनाव र असुरक्षा


१६ बैशाख २०७९, शुक्रबार


चुनावको मौसम आउना साथ असुरक्षाको भावना किन बढेर आउँछ ? कसले कसबाट असुरक्षा महसुस गर्दछ र किन गर्दछ ? यी कुरा महत्त्वपूर्ण हुन् जस्तो लाग्छ ।

चुनाव भनेको राजनीतिसँग जोडिएको विषय हो । पार्टीसँग जोडिएको विषय हो । चुनावको बेला यदि असुरक्षा हुन्छ भने पनि यसका कारक र जिम्मेवार पनि राजनैतिक पार्टी नै हुन् । चुनावको लहर सुरु हुनासाथ कुटपिटका घटना सुरु हुन्छ । पहिला आफ्नै पार्टी भित्र हुन्छ, आफ्नो दबदबा कायम गर्न र आफ्नो स्वार्थ पूर्ति गर्न । जब पार्टी भित्रको आफ्नो समस्याको निपटारा हुन्छ तब कुटपिटका कार्यक्रम विपक्षी पार्टीका कार्यकर्तातिर सोझिन्छन् ।

असुरक्षाका कारक नै राजनैतिक पार्टी र तिनका कार्यकर्ता हुन् भन्नेमा कुनै शङ्का छैन । यो विशेष असुरक्षा उम्मेदवार चुनिएर आफ्नो जिम्मेवारी ग्रहण नगरे सम्म रही रहन्छ । चुनावका दौरान असुरक्षा हुनका कारण निम्न हुन् जस्तो लाग्छ:

पार्टी भित्र दबाब बनाई राख्न
व्यक्ती र समूहले पार्टी भित्र अशान्ति मच्चाउने भनेको आफ्नो दबदबा कायम राख्न हो । दबदबा कायम राख्न सके आफ्नो कुरा मनाउन र आफ्नो इच्छा अनुसारको निर्णय गराउन सजिलो हुन्छ । सैद्धान्तिक रूपले कसैलाई प्रभावित पार्नु भन्दा पनि डर धम्कीले नै बढी प्रभाव पार्दछ भन्ने कुरा प्रमाणित हुँदै गएको छ अहिलेको परिपेक्ष्यमा । जुन कुरा हामीले प्रस्ट रूपले देखि राखेका छौँ र सञ्चार माध्यमले पनि यस्ता घटनालाई समय समयमा सार्वजनिक गर्दै गई राखेको पनि छ।

आफ्नै समूहका समर्थकले टिकट पाओस् भन्नका लागि
पार्टीभित्र स्वार्थ मिल्ने समूह–उपसमूह विकसित हुनु सामान्य प्रक्रिया हो । यी समूह–उपसमूहले स्वार्थपूर्तिका निम्ति दबाब कायम गरी राखेका हुन्छन् । त्यो चाहे टिकटका लागि होस् या अन्य कुनै स्वार्थपूर्ति निमित्त होस् । चुनावको बेला आफ्ना समूह र गुटलाई टिकट दिलाउनका निम्ति ती समूहले हात हालाहाल र मारपिटसम्मको अवस्थासम्म हुनु सामान्य रूपले लिने चलन छ।

यस बेलाको अवस्थामा काभ्रेलगायतका जिल्लाहरूमा घटेका घटना हाम्रा सामु उदाहरणका रुपमा देखिएका छन् ।

विपक्षी पार्टीहरूमा त्रास पैदा गर्न
नेपाल जस्तो राष्ट्रमा चुनावको बेला मतदातालाई प्रभावित गर्न पार्टीहरू एक अर्का भन्दा बलियो देखाउन खोज्दछन् । चाहे त्यो विपक्षी पार्टीलाई तर्साएर होस् अथवा विभिन्न विषय खोजेर एक अर्कालाई बदनाम गर्न खोज्नु पनि सामान्य नै हुन्छ चुनावको बेला । यो एक किसिमको मनोवैज्ञानिक त्रास हो । मौका परेमा झैझगडा पनि हुन सक्छ, होइन भने दबाब कायम राख्नु नै मुख्य उद्देश्य हुन्छ।

समाचारमा आउन
अहिले मतदाताको नजरमा आई राख्ने माध्यम भनेको समाचार तथा सामाजिक सञ्जाल हो । समाचार हेरेर धारणा बनाउनेको सङ्ख्या पनि कम छैन । तसर्थ यस्तो बेलामा उम्मेदवारका समूहले समाचारमा आई राख्ने बाटो खोजी राख्दछन् मतदातामा दबाब बनाई राख्नका निमित्त । अहिले प्रत्येक पार्टीका आफ्नै प्रेससँग जोडिएको सङ्गठन छन् । पार्टीका आफ्नै समाचारपत्र छन् । आफ्ना समाचारपत्र बाहेकका समाचारका माध्यममा प्रायोजित समाचार बनाईन्छ्न् जनतालाई प्रभावित गर्न, दिग्भ्रमित गर्न र दबाब कायम गर्न।

विपक्षी पार्टीका भोटरलाई निषेध
नेपालमा बहुदल आएपश्चात् बुथ कब्जाका घटना हामीले देखेको हो र त्यसलाई नियन्त्रण पनि गरिएको छ सुरक्षा निकायले । समय सँगसँगै बुथ कब्जामा धेरै कमी आएको छ तर परिस्थिति आफ्नो अनुकूल हुँदा बुथ कब्जाका घटना हुँदैनन् भनेर भन्न सकिँदैन । अहिलेको समयमा असुरक्षित माहौल देखाएर विपक्षका मतदातालाई मतदान केन्द्रमा नआउने वातावरणसम्म बनाउन सक्ने सम्भावना रहन्छ र अर्कोतर्फ परिस्थिति आफ्नो अनुकूल छ भने डर त्रास देखाएर मतदातालाई निषेध गर्न सक्ने सम्भावना रहन्छ भारत, पाकिस्तान, बांग्लादेश र नेपाल जस्ता दक्षिण एसियाली मुलुकमा।

हाम्रो चुनावमा विदेशी राष्ट्रको पनि आफ्नै चासो र सरोकार हुन्छ । यदि आफ्नो स्वार्थ पूर्ति हुने जस्तो हुँदैन भने चुनावमा धाँधलीको आरोप लगाउन पछि पर्दैनन् पश्चिमा राष्ट्रहरू । यी राष्ट्रहरूले विभिन्न माध्यम र विषय अगाडि सारेर आफ्नो दबाब बनाई राख्न चाहन्छन् र इतिहासका घटनाले प्रमाणित पनि गरेको छ । विदेशी राष्ट्रले आफू नजिक रहेका उम्मेदवारलाई लगानी गरेका हामीले पढेकै हो र सञ्चार माध्यमले समाचार न बनाएका पनि होइनन् ।

जे होस् मतदाता सचेत हुन जरुरी छ । वाद अथवा व्यक्तिगत लाभका लागि गलत उम्मेदवारलाई भोट दिएर विकास भन्दा पनि विनाश निम्तिएमा त्यसको जिम्मेवार हामी नै हुन्छौँ । माथि उल्लेख भएका विषय व्यक्ती अथवा पार्टीले मतदाता लोभ्याउनलाई गर्दछ भने पनि हामी सचेत हुनु जरुरी छ । तसर्थ भोट दिँदा होहल्लाका भरमा होइन कि संवेदशिल र विकास गर्ने सम्भावना बोकेका व्यक्तिलाई छाप लगाउन जरुरी छ । किनकि राम्रो प्रतिनिधिसँग हाम्रो राष्ट्रको, हाम्रा सन्तानको भविष्य जोडिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस