काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल गर्ने/ नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताएका छन् ।
बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको तल्लो कमिटी स्वतन्त्र रहेको बताएका हुन् ।
पर्सामा तालमेल नगर्ने र गुल्मीमा तालमेल गर्ने निर्णय भएको उदाहरण दिँदै उनले भने, ‘पार्टीको निर्णयबारे कोही अलमलिनु पर्दैन । स्थानीय तहको साथीहरूले तालमेल गर्ने निर्णय गर्न पनि पाउनु हुन्छ नगर्ने निर्णय गर्न पनि पाउनुहुन्छ । कसैले लाद्न पाउँदैन ।’
गठबन्धनको केन्द्रीय संयन्त्रले स्थानीय तहमा आफ्नो अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय गरेको भन्दै उनले यसको अधिकार तल्लो कमिटीलाई भएको बताए ।
महामन्त्री थापाले नेपाली काँग्रेस एक्लै चुनाव नलड्न सक्ने बताउँदै अन्य दलहरू (कम्युनिस्ट) गठबन्धन गरेर जाने र एकतासमेत गर्न सक्ने सम्भावना भएकोले त्यसलाई रोक्न पार्टीले यस्तो निर्णय गरेको बताए ।