पोल गाडेको तीन वर्षमा पनि बलेन बिजुली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पोल गाडेको तीन वर्षमा पनि बलेन बिजुली


१ बैशाख २०७९, बिहिबार


रुम (म्याग्दी) । म्याग्दीको मालिका गाउँपालिका-२ रुममा विद्युत्का पोल गाडिएर तार झुन्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले रुममा विद्युत्का पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलन चोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातो ढुङ्गा जोड्ने प्रसारण लाइन, ३३–११ केभी क्षमताको रातो ढुङ्गा सबस्टेशन र आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना सुरु गरेको थियो ।

रुमका नन्दबहादुर घर्ती मगरले पोल गाडेको तीन वर्ष र ट्रान्सफर्मर राखेको दुई वर्ष भए पनि बिजुली नबलेको बताए । ‘विद्यालयमा कम्प्युटर विषयको पठनपाठन, फर्निचरलगायत उद्योग व्यवसाय सञ्चालन गर्न समस्या भएको छ’, उनले भने, ‘लघु जलविद्युत्को बिजुलीको भरमा छौँ ।’ तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन । पाँच सय घरधुरी रहेको मालिका–२ रुममा पोल गाडेको, तार तानेको र ट्रान्सफर्मर जडान भए पनि केन्द्रीय लाइन विस्तार नभएको वडाध्यक्ष नरबहादुर पुनले बताए ।

मालिका गाउँपालिका–१ निस्कोटको खहरे, रिठेचौर, साउँ बोट, बास बोट, छिस, भट्ट खोला, घोर्सीका तीन सय घरधुरीमा विद्युतीकरण गर्न तीन वर्षअघि लगिएका पोल अझै नगाडेको खहरेका रनबहादुर पुनले बताए । ‘सडकको वरपर राखिएका बिजुलीका पोल झाडीले पुरिएका छन्’, उनले भने, ‘पोल ल्याएको तीन वर्षपछि हालै तीन रोल एबिसी केबुल आए पनि पोल गाड्ने र तार तान्ने काम भएको छैन ।’

डेढ सय घरधुरी भएको मालिका–६ को उपल्लो दुखुमा तीन वर्षअघि ढुवानी गरिएको पोल गाडेर हालै तार तान्न थालेका स्थानीयवासी ओमकार रोकाले बताए । तीन वटै बस्तीका बासिन्दा लघु जलविद्युत् परियोजना नियमित सञ्चालन नहुने र केन्द्रीय लाइन विस्तारमा ढिलाइ हुँदा उज्यालोका लागि टुकी, दियालो र सोलारमा निर्भर हुनुपरेको खहरेका सम्मरसिंह पुनले बताए । ‘विद्यालयमा कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्नदेखि घरायसी काम प्रभावित भएको छ’, उनले भने, ‘मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारसँगै जोडिएको हाम्रो बस्तीमा अझै केन्द्रीय लाइनको बिजुली बलेको छैन ।’

नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जीनियरिङले करिब आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेशन, मिलन चोकबाट २२ किलोमिटर प्रसारण लाइन, दुखु, निस्कोटको तल्लो क्षेत्र र रुममा विद्युतीकरण गर्ने काम २०१८ को डिसेम्बरमै सक्ने लक्ष्य थियो । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको सम्बद्ध आयोजनाको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीका कारण सबस्टेशन, प्रसारण लाइन र तीन वटा बस्तीमा बिजुली बाल्ने योजना अधुरो बनेको मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए ।

बिस किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि मिलन चोक सबस्टेशनबाट तीन वटा फिडरबाट ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको छ । म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्ति सहज बनाउन रातो ढुङ्गा सबस्टेशनलाई जति सक्दो छिटो सम्पन्न गराउनुपर्ने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए ।

रातो ढुङ्गा सबस्टेशन आयोजनाका इन्जिनियर कपिल पाण्डेले धेरै प्रयासपछि ठेकेदारलाई काममा फर्काएको र अधुरा काम सक्न ताकेता गरिएको बताए । ‘ठेकेदारलाई धेरै पटक ताकेता गरेर काममा फर्काएका छौँ’, उनले भने, ‘बाँकी कामलाई पूर्णता दिन पहल, समन्वय र ताकेता गरेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस