आजको रेडियो नेपाल र अबको बाटो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आजको रेडियो नेपाल र अबको बाटो


२० चैत्र २०७८, आइतबार


सन्दर्भ:
रेडियो नेपाल आजैदेखि आफ्नो स्थापनाकालको ७१ वर्ष पुरा गरी ७२ औँ वर्षमा प्रवेश गर्दै छ । विगत कालखण्डदेखि अनेक आरोह अवरोह खेप्दै सात दशकको यात्रा पुरा गरेको रेडियो नेपाल सरकारी सञ्चार माध्यमको संरचनाबाट सार्वजनिक प्रसारण माध्यमको ढाँचामा रूपान्तरण हुने क्रममा छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले अनौपचारिक र अनियमित शिक्षा विस्तारमा समेत सहयोग पुर्‍याउँदै आएको रेडियो नेपालको नेपाली समाजको सकारात्मक परिवर्तन र सामाजिक जनचेतना फैलाउन साथै समसामयिक समाचार, सूचना सहित स्वस्थ मनोरञ्जन उपलब्ध गराउनमा भूमिका छ भन्दा अतिशयोक्ति नहोला । राज्यको राष्ट्रिय प्रसारणका हिसाबले नवीनतम प्रविधि र बदलिँदो परिप्रेक्षमा रेडियो सामग्रीहरू श्रोता समक्ष पुर्‍याउन कम्मर कसेको रेडियो नेपालका आफ्नै समस्या र चुनौतीहरू पनि नभएका होइनन् । आज रेडियो नेपाल जुन अवस्थामा छ, यसको श्रेय आदरणीय श्रोता र सम्बन्धित सरोकारवालाहरूलाई नै जान्छ । यद्यपि रेडियो नेपालको समग्र पाविधि, प्रस्तुति, प्रसारण सामग्री, पहुँच र प्रभावकारिताका बारेमा तेस्रो पक्षबाट नियमित मूल्याङ्कन र विश्लेषणको पाटो चाहिँ उजागर हुन चाहिँ बाँकी नै छ ।

पृष्ठभूमि:
नेपालमा रेडियो प्रसारणको जननीका रूपमा रेडियो नेपालको स्थापना वि.सं. २००७ साल चैत्र २० गते (सन् १९५१)मा भएको हो । प्रारम्भमा “प्रजातन्त्र नेपाल रेडियो”, “नेपाल रेडियो” हुँदै रेडियो नेपाल नामाङ्कन भएको यस स्टेसनको सुरुवातको प्रसारण प्रविधि ए.एम. (सर्टवेभ) थियो। स्थापनाकाल देखि नै समाचार र सूचनाका अतिरिक्त जनचेतनामूलक, शिक्षाप्रद, विकास निर्माण र स्वास्थ्य मनोरञ्जनप्रद कार्यक्रमहरू प्रसार गर्दै आएको रेडियो नेपाल मूलतः सरकारी स्वामित्वमा सञ्चालन हुँदै आएको छ । संसारमासार्वजनिक, व्यवसायीक, निजी, गैर नाफामूलक र राज्य नियन्त्रित जस्ता रेडियो प्रसारण संस्थाहरू सञ्चालन हुँदै आएको परिप्रेक्ष्यमा रेडियो नेपाल स्थापनाकाल देखि २०४१ भाद्र १ गते अघि सम्म नेपाल सरकारको प्रसार विभागको रूपमा र यसपछि विकास समिति ऐन अन्तर्गत नेपाल सरकारले जारी गरेको गठन आदेश बमोजिम “रेडियो प्रसार सेवा विकास समिति” को रूपमा सञ्चालन भएको देखिन्छ । अग्रणी प्रसारण माध्यमका रूपमा क्रियाशील रहन राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिहरूको जानकारी दिदै सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषण गर्ने,नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई सम्मान गरी समाचार तथा कार्यक्रमहरू प्रसारण गर्ने, विभिन्न जाति, भाषा, धर्म, वर्ग तथा सम्प्रदाय बिच भावनात्मक एकता अभिवृद्धि गर्ने जस्ता विषय वस्तुहरु नै रेडियो नेपालको मुख्य विषयवस्तुहरू रहेको देखिन्छ । साथै नागरिकको आर्थिक, बौद्धिक, शैक्षिक र सामाजिक उत्थानमा सघाउ पुर्‍याउन शैक्षिक, सूचनामूलक, चेतनामूलक, मनोरञ्जनप्रद कार्यक्रमहरू सञ्चालन गर्ने र यसका लागि रेडियो नेपालले मिडियम वेभ, एफ.एम. र डिजिटल प्रविधिमा अनलाइन इन्टरनेट मार्फत रेडियो प्रसारण सेवा सञ्चालन गर्दै आएको छ ।

आजको अवस्था:
प्रसारण प्रविधि:

स्थापना कालदेखि शर्ट वेभ प्रविधि मार्फत सुरु भएको शर्टवेभ प्राविधिक २०६८ सालदेखि पार्ट पुर्जा अभावमा पूर्ण रूपमा बन्द छ । वि.सं. २०४२ देखि जापान सरकारको सहयोगमा तत्कालीन पाँचै विकास क्षेत्र (धरान र बर्दिबास, पोखरा, काठमाण्डौं, सुर्खेत र दिपायल) मा स्थापना भएको मिडियम वेभ ट्रान्समिटरहरुबाट प्रसारण सेवा सञ्चालन हुँदै आएकोमा हाल ती मिडियम वेभट्रान्समिटरहरु पनि स्पेयर पार्टस अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुनसकेका छैनन् । रेडियो नेपालले देशमा नै पहिलो पटक २०५२ कार्तिकदेखि एफ.एम. प्रसारण आरम्भ गरी समसामयिक प्रसारण प्रविधि अपनाउँदै आएकोमा हाल २०७८ चैतसम्म आइपुग्दा देशभरका सातै प्रदेशहरूका विभिन्न स्थानहरूमा गरी जम्मा २७ एफ.एम. स्टेसनहरू ९८, १०० र १०३ मेगाहर्ज मा सञ्चालन भइरहेका छन् । यसका अतिरिक्त रेडियो नेपालले डिजिटल प्लेटफर्ममा इन्टरनेट अनलाइन प्रसारण प्रविधि समेतको प्रयोग गरी डब्लुडब्लुडब्लु अनलाइनरेडियोनेपाल डट जीओभी डट एनपी न्युज पोर्टल मार्फत २४ सै घण्टा देशभित्र र बाहिर सर्वत्र रेडियो नेपाल सुन्न चाहनेहरूका लागि इन्टरनेटमार्फत सेवा उपलब्ध गराएको छ । यसका अतिरिक्त रेडियो नेपाल एप्स र डब्लुडब्लुडब्लु डट रेडियोनेपाल डट जीओभी डट एनपीमा पनि रेडियो नेपाल सुन्न सकिने व्यवस्था गरिएको छ । साथै सोसीयल मिडिया अन्तरगतका फेसबुक, ट्विटर आदिमा रेडियो नेपाल सुन्न र प्रतिक्रिया पठाउन सकिने प्रबन्ध पनिउपलव्ध छ । साथै यसै वर्षदेखि नवीनतम प्रविधि अन्तर्गत डिजिटलमा रेडियो डि.आर.एम. जर्नालाईन (वेवकाष्टिङ) मार्फत रेडियो नेपालको प्रसारण भइरहेको छ । १५ औँ योजनाको अन्त्यसम्ममा रेडियोको पहुँच शत प्रतिशत भूभागमा पुर्‍याउने नेपाल सरकारको नीति अनुरुप रेडियो नेपालले हरेक वर्ष आफ्नो प्रसारण पहुँचलाई वृद्धि गर्दै लगेको छ । हालसम्म रेडियो नेपालको प्रसारण पहुँच कूल जनसङ्ख्याको ९१% रहेको पाइन्छ । यसका अलावा रेडियो नेपालका श्रव्य सामग्रीहरूलाई चिरकाल पर्यन्त सुरक्षित राख्न हालका वर्षहरूमा डिजिटलाइजेशन र अर्काइभिङको कार्य पनि सञ्चालन गरी सकेको छ ।

जनशक्ति, भौतिक र आर्थिकअवस्था : रेडियो नेपालमा ५५८ जना स्थायी कर्मचारीहरूको दरबन्दी रहेकोमा हाल ३६० जना मात्र कार्यरत छन् । नपुग जनशक्तिहरू करार, ज्यालादारी तथा सिफ्ट बेसिसमा राखी कार्य सञ्चालन गरिएको छ रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरवार, काठमाण्डौंमा रहेको छ भने सङ्घीयताको अवधारणा अनुसार २०७४ भदौ ७ गते देखि सातै प्रदेश (धनकुटा, बर्दिबास, पोखरा, काठमाण्डौं, दाङ, सुर्खेत र दिपायल) मा प्रादेशिक प्रसारण कार्यालयहरू सञ्चालनमा रहेका छन् । ती प्रादेशिक प्रसारण कार्यालयहरू अन्तर्गत एफ.एम. रिले प्रसारण केन्द्रहरू देशका विभिन्न स्थानहरूमा गरी जम्मा २७ स्थानमा रहेका छन् । यीबाहेक रेडियो नेपाल प्रसारण केन्द्रहरू (धरान, भैसेपाटी र खुमलटार)पनि सञ्चालनमा छन् । केन्द्रीय कार्यालय र सातै प्रदेशका प्रादेशिक प्रसारण कार्यालयहरू रेडियो नेपालको आफ्नै भवनहरूमा रहेको कार्यालयहरूबाट सञ्चालित छन् भने कतिपय रिलेएफ.एम. स्टेसनहरू चाहिँ विभिन्न निकायहरूसँग सहकार्य गरी टावर एण्ड पावर शेयरिङ्ग मोडेलमा पनि रहेका छन् । रेडियो नेपाल देशको राष्ट्रिय दायित्व र सार्वजनिक जिम्मेवारी पुरा गर्ने प्रसारण संस्था भएकोले पनि यसले शतप्रतिशत बजेट खर्च आफ्नै आम्दानीबाट धान्न सक्ने सम्भावना न्यून छ । विगत वर्षहरूको आय व्ययहरूलाई विश्लेषण गर्दा रेडियो नेपालको आम्दानीले कुल बजेटको बढीमा २० देखि ३० प्रतिशत खर्च मात्र धान्न सक्ने अवस्था छ । बाँकी ७० देखि ८० प्रतिशत खर्च नेपाल सरकारबाट उपलब्ध हुँदै आएको छ । तसर्थ, रेडियो नेपालको बजेटको ठुलो हिस्सा नेपाल सरकारबाट व्यहोरिदै आएको पाइन्छ ।

समाचार र कार्यक्रम: बिहानी सेवा, दिवा सेवा, बेलुकी सेवा र रात्रिकालीन सेवा २४ सै घण्टा मध्ये बिहान ५ बजे देखि दिउँसो २बजेको समाचारसम्म केन्द्रीय प्रसारण र २ बजे देखि ६ बजेसम्म ४ घण्टा प्रादेशिक प्रसारण र त्यसपछि राति ११.०० बजे सम्म बेलुकी सेवा र राति ११ बजे पछि भोलिपल्ट बिहान ५ बजे सम्म रात्रिकालीन सेवा गरी २० घण्टा केन्द्रीय प्रसारण सञ्चालनमा छ । रेडियो नेपालबाट घण्टा-घण्टामा जिरो आवरमा समाचार बुलेटिनहरू प्रसार हुने गर्दछ । केन्द्रबाट बाहेक प्रादेशिक प्रसारणबाट पनि आ–आफ्ना प्रदेशहरूमा तोकिएका भाषाहरूमा समाचार तथा कार्यक्रम प्रसार गर्ने व्यवस्था छ । यसरी समग्रमा हेर्दा हाल रेडियो नेपालबाट २१ भाषामा समाचारहरू र २० भाषामा कार्यक्रमहरु प्रसारण भैरहेका छन् ।यस्तै रेडियो नेपालले विविध थरीका र फरक फरक स्वादका शैक्षिक, जनचेतनामूलक, विकास निर्माण र मनोरञ्जनप्रद कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । रेडियो नेपालले आफ्नो प्रसारण समयको करिब ७० देखि ७५ प्रतिशत समय राष्ट्रिय दायित्व र नागरिक प्रतिको जिम्मेवारीवोधका सेवामूलक कार्यक्रम उत्पादनमा खर्च गर्दछ भने बाँकी २५ देखि ३० प्रतिशत समय मात्र बाह्य सङ्घसंस्थाबाट प्रायोजन तथा अन्य विविध सूचना, सन्देश जानकारी प्रसारणका लागि उपलब्ध गराएको पाइन्छ । त्यसैले गर्दा रेडियो नेपाल कार्यक्रम उत्पादन र प्रसारण तथा पहुँचका हिसाबले पनि विगत वर्ष देखि नै सार्वजनिक प्रसारण माध्यमको पक्षपोषण गर्दै आएको छ । यसरी नै रेडियो नेपालले गीत सङ्गीतको संरक्षण तथा संवर्द्धन, नवप्रतिभाहरूको स्वर परीक्षा, विभिन्न राष्ट्रिय पर्वहरूमा गीत सङ्गी प्रतियोगिता तथा सङ्गीत प्रशिक्षण कक्षा समेत सञ्चालन गर्दै आएको छ ।

भोलिको बाटो:

विगत २०४१ सालदेखि हाल सम्म विकास समिति २०१३ को कानुनी संरचनामा सञ्चालन हुँदै आएको रेडियो नेपाल अबका दिनमा पनि यही संरचनामा यसरी नै सञ्चालन गर्दा “राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार” रेडियो नेपालको प्रसारणको समग्र लक्ष्य र उद्देश्य प्राप्त हुनमा कठिनाइ भइरहेको यथार्थलाई आत्मसाथ गरी निम्न २ विकल्पहरू सहित अगाडि बढाउन सकिने सम्भावना देखिन्छ । जुन आंशिक रूपमा कार्यान्वयन पनि हुँदै गइरहेको पाइन्छ ।

१. विद्यमान कानुनी संरचना पूर्ण रूपमा परिवर्तन गरेर ।

२. विद्यमान कानुनी संरचनामानै थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रमहरू सञ्चालन गरेर ।

१. विद्यमान कानुनी संरचना पूर्ण रूपमा परिवर्तन गरेर:

वि.सं. २०४७ सालको राजनैतिक परिवर्तन पछि नेपालमा प्रेस स्वतन्त्रता र प्रसारण क्षेत्रमा द्रुततर विकास भएको देखिन्छ । यस्तै २०६२-०६३ सालको युगान्तकारी परिवर्तन पछि जनताको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न पनि नेपालमा आम सञ्चार माध्यमहरूको क्षमता अभिवृद्धि र प्रतिस्पर्धा निकै बढ्दो छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था लागू भएपछि संविधानमा उल्लेख भए बमोजिमका सूचनाको हक, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक लगायतका प्रावधानहरूलाई व्यवहारमा उतार्न पनि सञ्चार माध्यमहरू सम्बन्धी कानुनलाई सरलीकृत, एकीकृत र संहिताकरण गर्ने कार्यमा बढोत्तरी भएको पाइन्छ ।

रेडियो नेपाल हाल विकास समिति ऐन २०१३ अनुसार गठित समिति भएकोले सीधा सरकारको मातहतमा छ तसर्थ नियमन पनि सरकारकै हातमा हुने नेैे भयो । तर २१ औँ शताब्दीमा सञ्चार माध्यम सरकार आफैले सञ्चालन गर्नुभन्दा अर्कै स्वतन्त्र निकायद्वारा सञ्चालन गरिनु अब्बल मानिन्छ । तसर्थ सार्वजनिक प्रसारण सेवामा रूपान्तरण भएपछि रेडियो नेपाल प्रत्यक्ष रूपमा राज्यको हातमा जान्छ भन्ने सोच हो । सरकारी सञ्चार माध्यमलाई सरकारको नेतृत्व गर्नेले राजनीतिक रूपमा निर्देशित गर्न सक्ने सम्भावना रहन्छ तर सार्वजनिक प्रसारण सेवामा रूपान्तरण भई सकेपछि स्वतन्त्र रूपमा वा संसद्को मातहतमा रहेको सञ्चालक परिषदवाट प्रसारण सेवा निर्देशित हुने हुँदा समाचार, कार्यक्रम तथा अन्य प्रसारित सामग्रीहरू नागरिकहरूको इच्छा, माग र चाहाना अनुसार उत्पादन गरिन्छ भन्ने मान्यता रहेको छ । हाल सरकारी सञ्चार माध्यहरू केही मात्रामा मात्र आफ्नो आयआर्जनबाट र नपुग बजेट सरकारबाट प्राप्त सरकारी रकमबाट सञ्चालन भएको अवस्थामा छन् तर सार्वजनिक प्रसारण सेवामा परिवर्तन भइसकेपछि राज्यले निर्देशित गरेको सार्वजनिक कोष वा जनताद्वारा सेवा शुल्क प्रदान गरेको कोष वा सिधै राज्य वाट प्राप्त कोष वा मिश्रित सार्वजनिक कोष वाट सञ्चालन गरिने हुँदा सार्वजनिक सेवामा नागरिकहरू र राज्यको सम्बन्ध नङ र मासु सरह रहन्छ । सार्वजनिक प्रसारण सेवा स्वायत्त, जनताप्रति उत्तरदायी र स्वार्थबाट मुक्त रहन सक्ने अपेक्षा गरिन्छ ।

यसै परिप्रेक्षमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण माध्यमको रूपमा विकास गर्न विविध खाका सहितका मस्यौदहरु/प्रतिवेदनहरू र सुझावहरू प्राप्त हुँदै आएका छन् । यसै सन्दर्भमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई हालका संरचनाबाट रूपान्तरण गरी सार्वजनिक प्रसारण माध्यमको भूमिकामा लैजान २०६३ पौषमा गठित सरकारी सञ्चार माध्यमको पुनर्संरचना र स्वायत्तता सम्बन्धी कार्यदलको प्रतिवेदन, २०६३ भदौमा गठित उच्च स्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन,मिडिया फर पिस प्रोजेक्ट (जाइका २०१०-२०१३) राष्ट्रिय आम सञ्चार नीति २०७३, पी.एस.वि. कार्यदल प्रतिवेदनहरू (निर शाह २०७३ र रघु मैनाली २०७५) लगायतका विभिन्न आयोग र कार्यदलहरूले पनि सुझाइसकेका छन् । यस्तै नेपाल सरकारको आर्थिक वर्ष २०७१/०७२ को बजेट वक्तव्य मार्फत रेडियो नेपाल र नेपाल टेलिभिजनको वर्तमान संरचानालाईपरिवर्तन गरी सार्वजनिक प्रसारण सेवाको रूपमा विकास गर्ने योजना अनुरुप पनि नेपालमा आवश्यक सार्वजनिक प्रसारण सेवाको संस्थागत संरचना, ऐन नियम र आवश्यक कानुनी व्यवस्थाको प्रस्ताव गरिसकेको छ ।

यसरी समयको अन्तरालमा पटक पटक आयोग र कार्यदलहरू निर्माण हुँदै सुझावहरू प्राप्त हुने क्रममा हरेक पटक रेडियो नेपाल र नेपाल टेलिभिजनलाई हालको संरचनाबाट रूपान्तरण गरी सार्वजनिक प्रसारण सेवा मार्फत एउटै छाता मुनि सञ्चालन गर्ने गरी हरेक नागरिकको पहुँच राज्यको शत प्रतिशत भूभागमा सार्वजनिक प्रसारण सेवा उपलब्ध हुनुपर्ने गरी व्यवस्था हुन पटक पटकका कार्यदलहरूको राय परामर्श प्राप्त हुने क्रममा हाल सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाको विधायन समिति सम्म पुगेको छ । यो विधेयक प्रतिनिधि सभाबाट छलफल पश्चात् पारित भएपछि मात्र सार्वजनिक सेवा प्रसारण सम्बन्धी ऐन जारी हुनेछ । त्यसपछि मात्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई पूर्ण रूपमा सार्वजनिक सेवा प्रसारणकै रूपमा सञ्चालन गर्न सकिने छ । हाल रेडियो नेपालले सार्वजनिक सेवा प्रसारणकै प्रारम्भिक स्वरूपमा आफ्नो नियमित प्रसारणलाई विकास र विस्तार गर्दै लगेको हुँदा भोलिका दिनमा हुने सार्वजनिक सेवा प्रसारण सम्बन्धी व्यवस्थामा रूपान्तरण हुन खासै समस्या रहने देखिँदैन किनकि सन १९९० को दशक देखि यता विश्वका धेरै मुलुकहरूमा रहेका सार्वजनिक प्रसारण सेवासँग सम्बन्धित संस्थाको सहभागितामा गोष्ठी, सेमिनार र सम्मेलन र बैठकहरूबाट प्रतिपादन भएका सिद्धान्तहरू सहित आर्टिकल १९ नामक अन्तर्राष्ट्रिय संस्थाले तय गरेका मापदण्डहरुसंग मिल्दा जुल्दा विशेषताहरू मध्ये भौगोलिक क्षेत्र र प्रविधिका आधारमा रेडियोको पहुँच समग्र नागरिकहरूमा हुनु पर्ने, प्रसारण गरिने सामाग्रीहरू चाख र स्वादका हिसाबले गुणस्तररियता र प्रभावकारिताका दृष्टिले कार्यक्रम प्रकारका हिसाबले पनि विविधतापूर्ण देखिनुपर्ने, यो प्रसारण सेवा सरकार र व्यापारिक वर्ग लगायत अन्य कुनै स्वार्थ राख्ने वर्गका निहित स्वार्थबाट मुक्त भई सार्वजनिक प्रसारण सेवा स्वायत्त र उत्तरदायी हुनुपर्ने, उत्पादित सामाग्रीहरू (समाचार, कार्यक्रम र श्रव्य सामग्री) निष्पक्ष, सन्तुलित, वस्तुपरक र सत्य-तथ्यमा आधारित हुनुपर्ने, उत्पादित सामाग्रीहरूले अल्पसङ्ख्यक, लोपोन्मुख, पिछडिएको वर्ग, जाति, भाषा, क्षेत्र, संस्कृति आदिको पहिचान, संरक्षण र सम्वद्र्धन गर्न सक्नुपर्ने, सार्वजनिक प्रसारण सेवाले समग्र राष्ट्रको/क्षेत्रको पहिचान र संस्कृतिको जगेर्ना गर्दै तिनको विकासमा सघाउन सक्नुपर्ने, यस प्रकारका सार्वजनिक प्रसारण सेवाहरू राज्यले सार्वजनिक कोष वा नागरिकहरुद्धारा प्रदत्त सेवा शुल्कद्वारा स्थापित कोषद्वारा सञ्चालन गरिनु पर्ने लगायतका विषयवस्तुहरू रेडियो नेपालले विगत वर्षहरुदेखिनै आफ्ना कार्यक्रम समाचार तथा प्रसारण प्रविधिमा प्रयोग गर्दै आइरहेको कार्यहरूसँग मेल खान्छन् केवल यिनीहरूलाई सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनी रूपबाट पूर्णता दिन बाँकी छ ।

यी सिद्धान्तहरूको मनन गर्दा अहिलेको रेडियो नेपाल सार्वजनिक प्रसारण सेवा उन्मुख छ, यसका कार्यक्रमहरू/समाचारहरू र अन्य श्रव्य सामाग्रीहरूमा सार्वजनिक प्रसारण सेवाको झलक वा स्वरूप सुन्न पाइन्छ तर शतप्रतिशत सार्वजनिक प्रसारणमा हुनु पर्ने खुराकहरू र योग्यताहरू/मापदण्डहरू/गुणहरू चाहिँ कानुनी संरचनामा परिवर्तन भएपछि मात्र लागु हुँदै जाने छन् । यसबाहेक सार्वजनिक प्रसारण सेवा जनहितकारी र लोक कल्याणकारी भएकोले पनि यस्तो सेवामा रेडियो नेपाल रूपान्तरण हुनु आवश्यक छ । साथै सार्वजनिक प्रसारण सेवा सवैका लागि र सधैँका लागि भन्ने आधारभूत /मूलभूत सिद्धान्तहरूको पालना गर्न र सबै नागरिकको रेडियो, राज्यको रेडियोको रूपमा रहन पनि नेपालमा सार्वजनिक प्रसारण सेवा आवश्यक परेको हो ।

राष्ट्रिय आमसञ्चार नीति २०७३ मा उल्लेख भएअनुसार “सार्वजनिक प्रसारण सेवाले कुनै व्यक्ति वा समुदाय उपर कुनै भेदभाव विना राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र व्यावसायिक पत्रकारिताको स्थापित मान्यता अनुरुप समाचार तथा कार्यक्रमहरू उत्पादन र प्रसारणको व्यवस्था मिलाउने, आदिवासी, जनजाति, दलित, मधेसी पिछडिएको क्षेत्र, महिलाको स्वामित्व वोध र सम्मान गर्ने खालका कार्यक्रम प्रसारण गर्ने तथा नेपालको सबै भूभाग र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहुँच पुग्ने गरी प्रसारण हुने र निश्चित बजेट सरकारबाट व्यवस्था गरी जनताप्रति उत्तरदायी बनाउने जस्ता कामहरू गर्ने निश्चित गरिएका छ जुन रेडियो नेपालले आफ्नो स्थापना कालदेखि नै अवलम्बन गर्दै आएको नीति हो । यसैले गर्दा पनि होला राष्ट्रिय आम सञ्चार नीति २०७३ मा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रूपान्तरण गरी सार्वजनिक सेवा प्रसारणमा लैजाने विषय उल्लेख भएको देखिन्छ ।

यसरी रेडियो नेपालले गर्दै आएका प्रसारणसँग सम्बन्धित तमाम क्रियाकलापहरू पनि सार्वजनिक सेवा प्रसारकले गर्ने जस्तै भएकोले गर्दा यस संस्थालाई सार्वजनिक प्रसारण संस्थामा. याथाशिघ्र रूपान्तरण गर्न सक्नु नै रेडियो नेपालको भोलिको बाटोको एउटा विकल्प हुन सक्छ ।

२. विद्यमान कानुनी संरचनामानै थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रमहरू सञ्चालन गरेर ।

विकास समिति ऐन २०१३ अन्तर्गत गठित रेडियो प्रसार सेवा विकास समितिको काम, कर्तव्य र अधिकार अन्तर्गत समितिको लागि नीति निर्धारण गर्ने तथा व्यवहारिक एवं वैज्ञानिक रूपबाट प्रसार गर्न आवश्यक पर्ने अनुसन्धान र अध्ययन गर्ने, गराउने लगायतका कामहरूको बारेमा उल्लेख गरिएका हुँदा हालको कानुनी संरचनामानै रहेर पनि थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रम सञ्चालन गरेर अबको दिनमा रेडियो नेपाललाई प्रभावकारी रूपमा सञ्चालन गर्ने दोस्रो विकल्प हुन सक्दछ । नेपाल सरकारले रेडियो नेपालको सञ्चालन चालु खर्च र पुँजीगत खर्चमा दिँदै आएको अनुदानको अतिरिक्त रेडियो नेपाल आफैँले रेडियो प्रसारणसँग सम्बन्धित कार्यहरू मार्फत रेडियो नेपालको कार्यक्षेत्र विस्तार गरी विस्तारित कार्यक्रमहरू सञ्चालन गर्दै जाने क्रमको एउटा उदाहरण हो तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम स्थापना तथा सञ्चालन निर्देशिका २०७८ मार्फत विराटनगरमा सञ्चालन हुँदै आएको सञ्चारग्राम । यस्तै प्रकारका अन्य विस्तारित कार्यक्रमहरू जस्तै: रेडियो एकेडेमी स्थापना (रेडियो प्रसारणसम्बन्धी अध्ययन अनुसन्धान तथा रेडियो प्रसारण प्रविधि, कार्यक्रम उत्पादन, सङ्गीत प्रशिक्षण लगायतका अल्पकालीन र दीर्घकालीन तालिम कार्यक्रमहरू सञ्चालन), रेडियो सङ्ग्रहालय (रेडियो प्रसारणसँग सम्बन्धित ऐतिहासिक सामग्रीहरूको विगतदेखि वर्तमान सम्मको सङ्कलन र प्रदर्शन), आदि । हालको विज्ञापन व्यापारका अतिरिक्त डिजिटल प्लेटफर्म मार्फत ई.-विजिनेशको थालनी (रेडियो नेपालका पुराना र नयाँ गीत सङ्गीत तथा श्रव्य सामग्रीहरूलाई ओ.टी.टी. एप्स मार्फत विश्व बजारीकरण गरी थप आय आर्जन), व्यावसायिक डिजिटल स्टुडियो स्थापना (केन्द्रीय तथा प्रादेशिक प्रसारण केन्द्रहरूमा व्यावसायिक डिजिटल रेकर्डिङ स्टुडियो स्थापना गरी व्यावसायिक उत्पादन, स्टुडियो भाडा वा तेस्रो पक्षबाट सञ्चालन गर्ने गराउने व्यवस्था) र दोस्रो च्यानलको सुरुवात (हालको केन्द्रीय र प्रादेशिक प्रसारणका अतिरिक्त दोस्रो च्यानलका रूपमा म्युजिक/न्युज/स्पोर्टस आदि च्यानलहरूको सुरुवात) हुन सक्दछन् ।

यो दोस्रो विकल्पका लागि रेडियो नेपालले संस्थागत सुधार जस्तै: प्रसारण सामग्रीमा विविधता, प्रतिस्पर्धी जनशक्ति र समयानुकूल डिजिटल प्रविधि प्रयोग गर्दै आफ्ना प्रसारणमा अझ निखार ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ जसका लागि रेडियो नेपाल प्रयत्नशील देखिन्छ । त्यस्तै हाल रेडियो नेपालले प्रारम्भ गर्दै आइरहेका आफ्ना पुराना तथा नयाँ गीत सङ्गीत लगायतका श्रव्य सामग्रीहरूलाई डिजिटल प्रविधि मार्फत व्यावसायिकीकरण गर्ने जसबाट रेडियो नेपाललाई आय आर्जनका अतिरिक्त रेडियो नेपालका उत्पादनहरूले विश्व बजारसम्म पहुँच राख्न सक्ने सम्भावना देखिन्छ ।

यी आन्तरिक कार्यक्षेत्रको विस्तार तथा सुधारका लागि अतिरिक्त रेडियो नेपालको चल/अचल सम्पत्ति जग्गा/जमिन, भवन/प्रसारण उपकरण आदिको व्यावसायिक रणनीतिक योजना मार्फत थप नीति नियम बनाई हालको समितिको कार्यक्षेत्र समेत विस्तार हुने गरी प्रसारणसँग सम्बन्धित कार्यहरू बाहेक अन्य कार्यहरू जस्तै प्रयोगमा आउन नसकेका जग्गा/जमिन/भवनहरूको बहुपक्षीय उपयोग हुन सक्ने गरी दोश्रो पक्षलाई उपयोग गर्न दिएर थप आय आर्जन गरी हालकै कानुनी संरचना भित्र रहेर पनि सञ्चालनमा विशिष्टता कायम गर्न सकिने अवस्था छ ।

यसरी अहिले रेडियो नेपाललाई नेपाल सरकारले उपलब्ध गराउँदै आएको तोकिएको अनुदान र रेडियो नेपालले रेडियो कार्यक्रम/विज्ञापन/प्रायोजन मार्फत आर्जन गरेको सीमित आम्दानीका कारण हाल रेडियो नेपाल सञ्चालनमा देखा पर्न थालेका आर्थिक समस्या तथा समसामयिक चुनौतीहरूलाई सामना गर्न र समाधान तर्फ लैजान पनि थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रम सञ्चालन गरेर पनि अघि बढ्न सकिने यो दोस्रो वैकल्पिक व्यवस्था हुन सक्दछ ।

उल्लेखित विकल्पहरूमा सरोकारवाला सबै निकायहरूको पहलकदमी र समन्वय अनि रेडियो नेपाल आफैँको अग्रसरता र क्रियाशीलता पनि उत्तिकै जिम्मेवार पक्षहरू हुन सक्छन् । हालसम्मका गतिविधिहरू हेर्दा रेडियो नेपालको भोलिको बाटोको विकल्पको रुपमाविद्यमान कानुनी संरचनामानै थप कार्यक्षेत्र निर्धारण गरी विस्तारित कार्यक्रमहरू सञ्चालन गरेर वा विद्यमान कानुनी संरचना पूर्ण रूपमा परिवर्तन गरेर अघि बढ्न सक्ने गरी सार्वजनिक प्रसारणको बाटोमा रेडियो नेपाललाई राष्ट्रिय रेडियो राष्ट्रको सञ्चारको रूपमा प्रभावकारी र गतिशील प्रसारण माध्यममा विकास र विस्तार गर्न सकिन्छ भन्ने विषयमा दुई मत नहोला ।

अन्त्यमा, ७२ वर्ष सम्म आइपुग्दा रेडियो नेपाललाई विगत देखि वर्तमानको अवस्था सम्म ल्याउनमा प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गले साथ सहयोग दिनुहुने सबै समादरणीय श्रोता, सरोकारवाला र नागरिक समाज सबैप्रति एकमुस्ट आभार प्रकट गर्दै, भोलिका दिनमा समेत यस प्रकारको सहयोग र समन्वयका अतिरिक्त समसामयिक सल्लाह र सुझावको अपेक्षा पनि राख्दछु ।

सन्दर्भ ग्रन्थहरुः

१. उच्च स्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन २०६३

२. रेडियो प्रसार सेवा विकास समिति गठन आदेश, २०४१

३. एक्सन प्लान फर पि.एस.वि. ट्रान्सफर्मेशन २०१३

४. सार्वजनिक प्रसारण परिषद अन्तरिम प्रतिवेदन आ.व. २०७२/७३

५. राष्ट्रिय आम सञ्चार नीति, २०७३

६. झङ्कार (७१ औं वार्षिकोत्सव, २०७७)

Tags :
प्रतिक्रिया दिनुहोस