काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुकाे एजेन्डाबारे सोध्दा माैन बसेका छन् ।
चुनावी तालमेलबारे छलफल बोलाइएको सत्तारुढ गठबन्धनकाे बैठकमा दलका नेताहरूले भारत भ्रमणको एजेन्डाबारे चासो राखेका थिए । उनीहरुले पटक-पटक एजेन्डाबारे सोध्दा पनि देउवा माैन बसेका हुन् ।
नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एजेन्डा राखेर सुझाव दिन आग्रह गरेका थिए ।
त्यसपछि सत्तारुढ दलका नेताहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली भू–भागबारे नेपालको मत राख्न सुझाएका छन् । प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्नुपर्ने, महाकालीमा भइरहेको अतिक्रमण रोक्नुपर्ने लगायतका समस्याबारे पनि भारतीय पक्षसँग संवाद गर्न नेताहरूले सुझाएका छन् ।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दलहरूले दुई देशको सम्बन्धलाई कसरी सुदृढ बनाउने भनेर सुझाव दिएको बताए ।
नेपाल र भारतबिच सरकार र सरकारको बिचमा मात्र नभई जनस्तरमा पनि सम्बन्ध रहेको भन्दै उनले भने, ‘त्यसलाई प्रगाढ बनाउने र हाम्रा बिचमा देखिएका समस्याहरूलाई उच्च स्तरको राजनीतिक र कूटनीतिक माध्यमबाट हल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन यो भ्रमण सफल हुनेछ भन्ने विश्वास लिएका छौँ ।’