जनकपुरधाम। महोत्तरी प्रहरीले श्रोत नखुलेको ५५ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी औरहीको संयुक्त टोलीले आइतबार औरही नगरपालिका वडा नम्बर १ बाट रकमसहित ती युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा औरही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षका धिरज कुमार यादव र १८ वर्षीय रमेश कुमार सहनी रहेको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
ज.९ प.८२४७ नम्बरको मोटरसाईकलमा सबार उनीहरूलाई चेकजाँच गर्दा ५५ लाख बरामद भएको विष्टले बताए ।
धिरजले काँधमा भिरेको कालो रङ्गको कपडाको झोलाभित्र लुकाई छिपाई ल्याएको उक्त रकम बरामद भएको उनले बताए ।
पक्राउ परेका दुबैलाई रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।