काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका छन् ।
आइतबार एमाले स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले मतपत्रको रङ बदल्ने निर्णयप्रति आपत्ति जनाउँदा जनाउँदै पनि बलमिचाइ गरेको आरोप लगाए। उनले भने, ‘मत पत्रको रङ बदल्नै पर्छ । यो विल्कुलै आपत्तिजनक कुरा हो । निर्वाचन आयोगले यस्ता क्रियाकलाप गर्न मिल्दैन । हामीले आपत्ति जनाउँदा जनाउँदै बलमिचाइ किन ?’
ओलीले सत्ता गठबन्धनको समझदारीमै आयोगले सबै गरिरहेको समेत आरोप लगाए। उनले भने, ‘निर्वाचन आयोगले हरियो रङ छान्यो, यो एउटा सङ्केत हो । हरियो रङ लगाउँदा छर्लङ्ग देखिने रहेछ भन्ने कुरा आयोगले गर्यो। सूर्यमा हरियो रङ लगाउँदा कसरी प्रस्ट देखिने रहेछ ? हरियो रुख ढपक्क पार्ने निर्वाचन आयोगको निर्णय आपत्तिजनक हो ।’
आयोगले दलहरूसँग परामर्श नगरी एउटा दल विशेषलाई फाइँदा पुग्ने गरी रङ निर्धारण गरेको आरोप लगाउँदै ओलीले यसको प्रतिवाद गर्न समेत नेताहरूलाई निर्देशन दिए। उनले भने, ‘हाम्रो विपक्षमा फैसला गर्ने निर्वाचन आयोगको क्रियाकलाप हामीले देखेका छौँ । अब यस्ता क्रियाकलाप नहोउन् भनेर निर्वाचन हेर्ने साथीहरू प्रस्तुत हुनुहोला ।’
निर्वाचन आयोगको भूमिका तटस्थ हुनुपर्ने र सबैले विश्वास गर्ने खालको हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘हामी निष्पक्ष, निर्विवाद, तटस्थ निर्वाचन आयोग चाहन्छौँ । हामी निष्पक्ष निर्वाचन आयोग चाहन्छौँ । जसमाथि सबै पार्टी र जनताले विश्वास गर्न सकौँ ।’
निर्वाचन आयोग अटेरी गरेर अगाडि बढी रहेको भन्दै ओलीले यो चिन्ताको विषय रहेको समेत बताए ।