काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आगामी स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्ने बताएका छन् ।
तर चुनावी तालमेल गरेर गठबन्धन बचाएर लैजानु पर्ने आवश्यकता रहेको उनले बताए । पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिनेछ । कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो । चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ । धेरै केन्द्रीय सदस्यहरूको धारणा तालमेलको पक्षमा आएको छ। कहाँ कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ । बैठकले चुनावबारे सैद्धान्तिक निर्णय गर्छ ।’