चरिकोट । दोलखा कालिन्चोक गाउँपालिका–५ लापिलाङमा आज बिहान भएको आगलागीबाट विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रूपमा नष्ट भएको वडाध्यक्ष सुवास थामीले बताए ।
खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पूर्ण निर्माण गरिएको तीन वटै घर र सामग्री जलेर नष्ट भएको छ ।
भीमेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । बाक्लो गाउँ भएको र घरहरूसँगै जोडिएर निर्माण गरिएकाले एक घरमा सल्किएको आगोले अन्य घरसमेत जलेर नष्ट भएको छ ।
आगलागीबाट तीन वटा घरसहित घरमा भएको सामग्रीहरू जलेर करिब ५० लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष थामीले बताए ।