काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन् ।
अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताएका हुन् ।
अखिल नेपाल महिला सङ्घ (समाजवादी)ले आज (शुक्रबार) काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली दक्षिणपन्थी भएको दाबी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग पनि चुनावमा मिलेर जाने प्रयास गरिरहेको तर्क गरे ।
तर आफूहरु भने वामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले काँग्रेसलगायतका शक्तिहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने उनको भनाइ थियो ।
त्यसका लागि काँग्रेसको संस्थागत निर्णयको पर्खाइमा आफूहरु रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य वामपन्थी राजनीतिक शक्तिहरुले पनि आफ्नो पार्टीसँग चुनावी तालमेलका लागि प्रस्ताव गरिरहेको बताए ।
अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्ने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन् ।
एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको नेपालको दाबी छ ।
पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको उनले बताए ।