समस्या समाधानका लागि व्यवसायीसँग जेठ मसान्तसम्मको समय माग « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

समस्या समाधानका लागि व्यवसायीसँग जेठ मसान्तसम्मको समय माग


८ चैत्र २०७८, मंगलबार


नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रीको कमिसन विवाद समाधान गर्न व्यवसायीसँग झन्डै तीन महिनाको समय मागेको छ ।

व्यवसायीको समस्या समाधान गर्न निगमले गठन गरेको आन्तरिक समितिले पत्राचार गर्दै तीन वटै व्यावसायिक संस्थाहरूलाई यस्तो आग्रह गरेको निगमका प्रवक्ता विनीतमनि उपाध्यायले बताए ।

नेपाल एलपी ग्यास उद्योग सङ्घ, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई पत्राचार गर्दै निगमले यस्तो आग्रह गरेको हो ।

व्यवसायीले उठाएको मागका सम्बन्धमा निगमको आन्तरिक समितिले बनाएको प्रतिवेदनमाथि मन्त्रालयको उच्चस्तरीय समितिले अध्ययन गरिरहेको पनि निगमले जनाएको छ ।

मन्त्रालयले गठन गरेको सहसचिव राधिका अर्याल नेतृत्वको समितिले मागका सम्बन्धमा सरकारको धारणा बनाउने पनि निगमले जनाएको छ । प्रतिशतमा दिइँदै आएको कमिसन यथावत् राख्ने निगमको निर्णयविरुद्ध ६ चैतदेखि व्यवसायीहरूले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ ।

एलपी ग्याँस उद्योग सङ्घले आइतबारदेखि नै खाना पकाउने ग्यासको पीडीओ उठाउन रोकेका छन् । व्यवसायीले आन्दोलनको घोषणा गरे पनि ग्याँसको आयातमा भने कुनै समस्या नरहेको निगमले जनाएको छ । आइतबार नाकाबाट नियमित जस्तै १०८ बुलेट ग्याँस भित्रिएको थियो । व्यवसायीले आन्दोलनको घोषणा गरे पनि एक महिनाका लागि पुग्ने गरी पीडीओ यसअघि नै जारी भइसकेको निगमको ग्याँस विभागले जनाएको छ ।

पीडीओ नउठाउने आन्दोलनकै बिच सोमबार वीरगन्जबाट १२, भैरहवाबाट ५ वटा पीडीओ जारी भएको निगमले जनाएको छ । मंगलबार साँझसम्म विराटनगरबाट ६, वीरगन्जबाट ३ र भैरहवाबाट ४ वटा पीडीओ जारी भइसकेको निगमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस