युक्रेन सङ्कटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्यान्ड जाने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

युक्रेन सङ्कटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्यान्ड जाने


७ चैत्र २०७८, सोमबार


वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्यान्डको जाने भएका छन्।

यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्यान्डको यात्रा गर्ने ह्वाइटहाउसले जनाएको छ।

उक्त भ्रमण नेटो सहयोगीहरू, जी ७ नेताहरू र युरोपेली सङ्घका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जनाएका छन् ।

मार्च २५ मा राष्ट्रपति बाइडेन पोल्यान्डको वारसा पुग्ने र त्यहाँ उनले राष्ट्रपति एन्ड्रेज डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ।

राष्ट्रपतिले हाम्रा सहयोगी र साझेदारहरूसँगै संयुक्त राज्य अमेरिकाले कसरी प्रतिक्रिया दिन्छ भनेर छलफल गर्नुहुनेछ, ह्वाइटहाउसले उल्लेख गरेको छ। मार्च २३ मा बाइडेन बेल्जियमको ब्रसेल्स पुग्नेछन्।

मार्च २४ मा बाइडेनले युक्रेनमा रुसको अप्रत्याशित र अनुचित आक्रमणको प्रतिक्रियामा चलिरहेको प्रतिरोध र रक्षा प्रयासहरूबारे छलफल गर्न एक असाधारण नेटो शिखर सम्मेलनमा भाग लिनेछन् । राष्ट्रपतिले हाम्रा नेटो सहयोगीहरू र नेटो क्षेत्रको रक्षा गर्नको लागि कडा प्रतिबद्धता जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस