समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागि परेको छ: अध्यक्ष नेपाल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागि परेको छ: अध्यक्ष नेपाल


५ चैत्र २०७८, शनिबार


गोरखा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिस्ट पार्टी बनाउने बताएका छन् ।

गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेकपा एमालेको अब कुनै राजनीतिक भविष्य नभएकाले आफ्नो पार्टीलाई असल कम्युनिस्ट पार्टीका रूपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।

‘हामीले जनसेवाको भावनाले ओतप्रोत भएर गरिब र दीन दुःखी जनता, विपन्न, बेसहारा, दलित र अत्याचारमा परेका नेपाली तथा जुनसुकै वर्ग समुदायका देशभक्त नेपालीको हितको कल्याण गर्ने पार्टी निर्माण गर्नुपर्छ’, उनले भने, ‘यो पवित्र भावले लाग्दा खेरी यो पार्टीको भविष्य रहन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको ओइरो लागेको बताउँदै आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर देशभर चलिरहेको छ भने । ‘नक्कली सोच र विचारले केही हुनेवाला छैन, अबको स्थानीय तहको चुनावले त्यसको फैसला गर्नेछ’, उनले भने ,‘एकीकृत समाजवादी क्रान्तिकारी सोचका साथ अघि बढेको छ, समाजवाद, विकास र समृद्धिका निम्ति देशभक्तिको झन्डा उठाएका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस