बैतडीमा राष्ट्रिय परिचयपत्रको काम अब वडाबाटै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैतडीमा राष्ट्रिय परिचयपत्रको काम अब वडाबाटै


३ चैत्र २०७८, बिहिबार


बैतडी । बैतडीमा राष्ट्रिय परिचय पत्रको काम वडा तहबाटै हुने भएको छ ।

यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण सङ्कलनको काम अब वडा तहबाटै गर्न लागिएको हो ।

दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रम पहिलो चरणमा यही चैत ६ गतेदेखि सुरु हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

दश स्थानीय तह रहेका जिल्लाका चार स्थानीय तहमा पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।

पहिलो चरणमा शिवनाथ, सिगास, डिलाशैनी र पञ्चेश्वर गाउँपालिकाका वडा–वडामा विवरण सङ्कलनको काम सञ्चालन हुने उनको भनाइ थियो ।

सूचना अधिकारी भारतीले भने,’एक पालिकामा कम्तीमा १५ दिनसम्म कार्यक्रम सञ्चालन हुन्छ, प्रत्येक वडामा कर्मचारी खटाएर विवरण सङ्कलन गर्छौ ।’

विवरण सङ्लनका लागि कर्मचारी वडा कार्यालयमै खटाइने र यसका लागि ३५ विवरण दर्ता अपरेटर परिचालन हुनेछन् ।

विवरण सङ्कलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले परिचयपत्र जारी गर्ने र सो परिचयपत्र वडाबाटै वितरण हुने जनाइएको छ ।

पहिलो चरणमा चार स्थानीय तहको विवरण सङ्कलन भएपछि त्यसपछि जिल्लाका अन्य स्थानीय तहका वडामा पनि विवरण सङ्कलनको काम सञ्चालन हुनेछ ।

सोह्र वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको विवरण सङ्कलन हुनेछ ।

राष्ट्रिय परिचय पत्र बहुउपयोगी भएकाले आफ्नो नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गरेका छन् ।

विसं २०७७ असोज पहिलो सातादेखि सुरु गरिएको उक्त विवरण सङ्कलनमा हालसम्म सात हजारभन्दा बढी सहभागी भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस