यु–१८ महिला साफ च्याम्पियनसिप : भारतसँग नेपाल ७–० ले पराजित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यु–१८ महिला साफ च्याम्पियनसिप : भारतसँग नेपाल ७–० ले पराजित


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । यु–१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–० गोलको नतिजामा पराजित भएको छ ।

भारतको जम्सेदपुरस्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा सम्पन्न खेलमा भारतलाई जित दिलाउन लिन्डा कमले दुई गोल गरिन् । यस्तै, सुजिस पट्टेल, अपूर्णा नार्जारि, पूर्निमा कुमारी, सुनिता मुर्जा र नितु लिन्डाले एक–एक गोल गरे ।

खेलको १४औँ मिनेटमा सुजिस पट्टेलले गोल गर्दै भातलाई अग्रता दिलाएकी थिइन् ।

त्यसको तीन मिनेट नबित्दै भारतको अग्रता दोब्बर पार्न लिन्डा कमले दोस्रो गोल गरिन् । खेलको ३५औँ मिनेटमा लिन्डालेनै व्यक्तिगत दोस्रो गोल गर्दै भारलाई पहिलो हाफमा तीन गोलको अग्रता दिलाउन मद्दत गरिन ।

पहिलो हाफमा निरन्तर नेपाल माथि दबाब बनाएको भारतले दोस्रो हाफमा पनि नेपालमाथि दबाब बनायो । तुलनात्मक रूपमा नेपालको प्रदर्शन दोस्रो हाफमा पनि फितलो देखिएको थियो । केही अवसर बनाए पनि नेपालले त्यसलाई स्कोरमा परिणत गर्न असफल रह्यो ।

खेलको ६९औँ मिनेटमा अपूर्णाले गोल गर्दै भारतलाई ४ गोलको अग्रता दिलाइन् । यस्तै, ७६औँ मिनेटमा पूर्निमाले गोल गर्दै पाँच गोलको अग्रता कायम गरिन । त्यसको दश मिनेटपछि सुनिता मुर्जाले गोल गर्दै ६–० गोलले भारतको अग्रता बढाइन् । खेलको इन्जुरी समयमा नितु लिन्डाले गोल गर्दै भारतको जित ७–०ले सुनिश्चित गरिन् ।

जितसँगै भारतले तीन अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपाल, भारत र बङ्गलादेश गरी तीन देशको सहभागिता रहेको खेल डबल राउन्ड रोबिन पद्धतिमा आयोजना हुनेछ । समूह चरणको खेल सकिँदा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

सन् २०१८ देखि सुरु भएको यो प्रतियोगिताको तेस्रो संस्करण हो। नेपाल पहिलो संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । यस्तै, दोस्रो संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो ।

नेपालले दोस्रो खेलमा चैत्र तीन गते बङ्गलादेश, पाँच गते भारत र ६ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस