बागमतीलाई नमुना प्रदेशका रूपमा विकास गर्नुपर्छ : पूर्व मुख्यमन्त्री शाक्य « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बागमतीलाई नमुना प्रदेशका रूपमा विकास गर्नुपर्छ : पूर्व मुख्यमन्त्री शाक्य


३० फाल्गुन २०७८, सोमबार


बागमती। बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई नमुना प्रदेशका रूपमा विकास गर्नुपर्ने धारणा राखेकी छन् । उनले विगतका सबै कमीकमजोरीलाई सच्चाएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा प्रदेशसभा बैठकमा आज आफ्नो धारणा राख्दै शाक्यले संसद् सञ्चालन गर्न सत्तापक्षले भन्दा बढी प्रमुख प्रतिपक्षका रूपमा आफूहरूले भूमिका खेलेको बताइन् ।

जनताप्रति सरकार र प्रतिपक्ष दुवै उत्तरदायी तथा जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । सरकार र प्रतिपक्ष कसैले पनि सङ्कीर्ण सोच राख्न नहुने शाक्यले बताइन् । उनले प्रदेशको आफूहरूसमेत सहभागी भई तयार गरेका सुरुङ मार्ग, विद्युतीय बस सञ्चालन लगायतका महत्त्वपूर्ण योजना कटौती गर्ने सरकारको निर्णय उचित नभएको बताइन् ।

‘मुख्यमन्त्रीले विद्युतीय बस सञ्चालनका लागि तथा सुरुङ मार्ग निर्माणका लागि छुट्याएको बजेट तुरुन्तै अन्त खर्च गर्छु भनेर संसद्मा उभिएर भन्नुभएको कुरा नाजायज छ’ उनले भनिन् । सदनबाट पास भएको बजेट सदनलाई जानकारी नदिई अन्यत्र खर्च गर्नु कानुन विपरीत हुने पूर्व मुख्यमन्त्री शाक्यको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस