सिर्जनामा राजनीतिकरण नगर्न प्रकाशको अनुरोध « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सिर्जनामा राजनीतिकरण नगर्न प्रकाशको अनुरोध


प्रशासन संवाददाता

३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ माथि विवाद भएपछि त्यसबारे स्पष्टीकरण दिएका छन् ।

उनले सोमबार (आज) सामाजिक सञ्जाल फेसबुक पेजमार्फत गीतमाथि उठेका प्रश्नको जवाफ दिँदै यसलाई राजनीतिकरण नगर्न अनुरोध समेत गरेका छन् ।

सिर्जना र स्वतन्त्रताको कुरा गर्दै उनले लेखेका छन्, ‘सिर्जना र स्वतन्त्रताको कुरा गरौँ । तर, यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ।’

प्रकाश सपुतको वक्तव्यको पूर्णपाठसहित :

नमस्कार !

पिर’ प्रतिको शुभेच्छाका लागि तपाईँहरू सबैलाई धेरै–धेरै धन्यवाद ! सबैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैँ कसैको मन नबिझाई सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ । त्यसैले मेरो नयाँ गीत ‘पिर’का कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महसुस गरेको छु ।

गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ । एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ । मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यति बेला आफ्नै सिर्जना तपाईँहरूका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि ? तपाईँहरू (केही)ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दै छु ।

‘पिर’बाट मैले युद्धकै जगर बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हौँ । समानताको लागि एकसाथ लडेका कमरेडहरू बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हौँ । एक आम नागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको हुँ ! मलाई लागेको–यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिँदै र पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्विकारिएको विषय होइन र?

जसरी यसअघिका गीतहरू ‘बोल माया’, ‘दोहोरी ब्याटल’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’, ‘मेरो पनि हैन र यो देश’ , ‘कुरा बुझ्न पर्छ’, गीतहरूमा कथा बुन्थेँ, पात्र बनाउँथेँ , टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड र छायाङ्कन गर्थेँ । यसमा पनि त्यही प्रक्रिया छ ।

गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु । ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउनेरबजाउनेर पकाउने पस्कने मध्येका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पष्ट पार्न चाहन्छु । प्रतीकात्मक रूपमा दृश्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो पिर । योबिचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरेँ । केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरेँ । केही पात्रहरू पढेँ । आम मानिसका भोगाई र संवेदनाहरू बुने र भिडियो बनाएँ । मेरो पेसा र पहिचान यही हो ।

एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिँदैन । पुरै बुझाई आउँदैन। त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदै छ, त्यसमा अर्कै दृष्टिकोण समेटौँला। अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृश्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृश्य हो । प्रतीकात्मक रूपमा राखिएका यस्ता दृश्यहरूले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु। माफी मागेको छु ।

अब यस्ता पात्रहरू छन् वा छैनन् भन्नेतर्फ नजाऔँ । त्यसो हो भने मुना/मदन छन् कि छैनन् ? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगवीर / सकम्बरी कहाँ होलान् ? कहाँ होला घुम्ने मेचमाथि बसेको अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एक पटक अक्षरशः हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन । बरु भए/भरका परिवर्तनको जस दिइएको छ ।

भिडियोमा देखिएका पात्रहरू जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरूको अवस्थाको गीत किन नगाउने भन्ने हो । अब भिडियो नै हटाउँदा पो युद्ध/ आन्दोलन/ गणतन्त्र / स्वतन्त्रताको अपमान हुने हो कि ? म अत्यन्त अन्तरमुखी र शान्त मनुवा हुँ । म सर्जक हुँ, सिर्जना नै मेरो विचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन ! मैले कसैसँग पनि यो विषयमा सहयोग सल्लाह लिएको छैन ! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौँ तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु ! मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु ! मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष/विपक्षमा एकोहोरो भइन्छ ! नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ ! विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौँ, समीक्षा गरौँ ! तर गीतले उठाउन खोजेको मुख्य विषयहरूलाई एक पटक इमानदार भएर विचार गरौँ । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पङ्क्तिले स्विकारिसक्नु भएको छ! त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो ।

भिडियो हेरिरहँदा जुन–जुन दृश्यले सम्बन्धित साथीहरूलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु ! यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ! कसैले नियतवश उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुबिधामा नपारौँ ! न अल्झाऔँ ! किनकि समाजमा टिप्नुपर्ने कैयौँ कथा छन् ! गाउनुपर्ने कयौँ, गीत छन् ! तपाईँले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौँ प्रश्नहरू छन् । प्रश्नहरूलाई निरुत्साहित नगरिदिनुहोस् ।

–प्रकाश सपुत

Tags :
प्रतिक्रिया दिनुहोस