काठमाडौँ। चीनमा कोरोना भाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा फैलिन थालेको छ । आइतबार चीनमा करिब ३ हजार ४ सय नयाँ सङ्क्रमित फेला परेका छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ सङ्क्रमितहरूको यो सङ्ख्या सन् २०२० को फेब्रुअरी महिनापछि एकै दिनमा दर्ज भएको सबैभन्दा बढी हो ।
सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सांघाईमा विद्यालयहरू बन्द गरिएको छ । साथै पूर्वोत्तर केही सहरहरूमा लकडाउन गरिएको छ ।
विश्वभर कोरोना सङ्क्रमितहरूको सङ्ख्या ४४ करोड ६६ लाख भन्दा बढी छ । मृतकको सङ्ख्या ६० लाख आसपास छ । पछिल्लो एक महिनामा विश्वभर कोरोनाका ५ करोडभन्दा बढी सङ्क्रमितहरू फेला परेका छन् भने दुई लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।
सङ्क्रमित बढ्न थालेपछि फ्रान्सले ८० वर्षभन्दा बढी उमेरका नागरिकहरूलाई कोरोना भाइरसको चौथो मात्रा दिने तयारी सुरु गरेको छ । बुस्टर डोज लिएको तीन महिना पूरा भएकाहरूलाई चौथो मात्रा दिइने फ्रान्सका प्रधानमन्त्रीले बताएका छन् ।