हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा नागरिकको उत्साह बढ्दो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा नागरिकको उत्साह बढ्दो


२८ फाल्गुन २०७८, शनिबार


विराटनगर । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा आम नागरिकको उत्साह देखिएको छ ।

जनस्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवन’ शुभारम्भ कार्यक्रममा सो उत्साह देखिएको हो ।

व्यक्तिको उचाइअनुसार नौ वटा चक्कीसम्म खान हुने सो औषधि छारे रोग, गर्भवती महिला, सुत्केरी महिला, सिकिस्त बिरामी र दुई वर्षभन्दा कम उमेरका बालबालिका सेवन गर्न नहुने चिकित्सकले बताएका छन् ।

जुकाको औषधिसमेत खुवाइने यो अभियान मोरङमा १४ दिनसम्म चल्ने र करिब १० लाख मानिसले सेवन गर्ने स्वास्थ्य कार्यालयका अधिकृत धरणीधर निरौलाले बताए । उनले यो औषधि सेवन गराउन जिल्लाभरि ७३२ जना स्वयंसेवक परिचालन भएको र यस पटकको औषधि सेवन ११ औँ हो भने ।

सो अवसरमा इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले यो औषधि सेवन गर्न योग्य मानिसलाई प्रतिकूल असर नगर्ने भएकाले निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गरे ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले हात्तीपाइले जस्तो रोगले मानिसलाई अपाङ्गसम्म बनाउन सक्ने भएकाले यो औषधि सेवन गर्न सुझाव दिए ।

कार्यक्रममा प्रदेश नं १ का स्वास्थ्य सचिव डा अनुज भट्टचन र सङ्घीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले पनि औषधि सेवनले मानिसको जीवन सरल र स्वस्थ्य हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस