बैङ्किङ अपराधमा संलग्न तीन व्यक्ति पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बैङ्किङ अपराधमा संलग्न तीन व्यक्ति पक्राउ


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । बैङ्किङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको गोङ्गबु बस्ने गोरखा भीमसेन थापा गाउँपालिका–६ का २५ वर्षीय निसम विक, काठमाडौँको मनमैजु बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१७ का ३२ वर्षीय मुन्दिप भुजेल र काठमाडौँ रामकोट बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ की ३६ वर्षीया शान्ता कोइराला दवाडी रहेका छन् ।

निसम र मुन्दिपलाई बिहीबार र शान्तालाई आज (शुक्रबार) पक्राउ गरिएको महाशाखाले एक सूचना जारी गरी जनाएको छ ।

बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत मङ्सिर १२ को फैसलाले मुन्दिपलाई ४ दिन कैद र रु ९ लाख जरिवाना तथा गत मङ्सिर २१ को फैसलाले शान्तालाई रु ९ लाख ९० हजार जरिवाना हुने ठहर भएको थियो ।

निसमको नाममा भने बैङ्किङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । महाशाखाबाट खटिएको प्रहरीले मुन्दिपलाई काठमाडौँको मनमैजुबाट, निसमलाई वनस्थलीबाट र शान्तालाई सितापाइलाबाट पक्राउ गरेको हो ।

दुई जनालाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ भने निसमलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस