स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्नुुहुँदैन : अध्यक्ष ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्नुुहुँदैन : अध्यक्ष ओली


२७ फाल्गुन २०७८, शुक्रबार


गण्डकी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताएका छन् ।

प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाअधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले आजको सञ्चार क्षेत्र राष्ट्रको समृद्धि, सुशासन र विकासका लागि हुनुपर्ने बताए । सञ्चार क्षेत्रमा प्राप्त उपलब्धिलाई उपयोग गर्दै लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्नु वर्तमानको आवश्यकता भएको उनले बताए ।

अध्यक्ष ओलीले नेपाली पत्रकारिता तथा प्रेस क्षेत्रको इतिहास छोटो रहेको उल्लेख गर्दै उनले स्वतन्त्र प्रेसको अवस्था अझै पछि रहेको स्पष्ट पारे । स्वतन्त्रता एवम् हक अधिकारका क्षेत्रमा संविधानले स्पष्ट व्यवस्था गरेको चर्चा गर्दै उनले हक तथा अधिकारसँगै कर्तव्यको पालना गर्नेतर्फ पनि लाग्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले नवीनतम प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिँदै अतीतमुखी नभई आगतमुखी हुनुपर्ने बताए । पत्रकारिता राष्ट्रको समुन्नति र विकासका लागि हुनुपर्नेमा जोड दिँदै उनले प्रेस चौतारीले आगामी दिनमा आफूलाई अझै व्यवस्थित एवं एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष ओलीले देशको राजनीति जनादेशी र परामादेशीबीच दुई धारमा विभक्त भएको उल्लेख गर्दै आसन्न निर्वाचनका माध्यमबाट जनादेश विरोधीलाई परास्त गर्ने बताए । उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने गरी सबै लाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा अध्यक्ष ओलीले प्रेस चौतारी नेपालबाट प्रदान गरिने पुरस्कारबाट प्रेस चौतारी नेपालका पूर्व अध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याल, उपाध्यक्ष शान्ति गुरुङ, लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदीसहित विभिन्न व्यक्तिलाई सम्मान गरे भने प्रकाशित स्मारिकाको पनि विमोचन गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रका पक्षमा पत्रकारिता क्षेत्रले कलम चलाउनुपर्ने आवश्यकता औँल्याए । नेपाली काँग्रेस सधैँ लोकतन्त्र र प्रेस स्वतन्त्रका पक्षमा रहेको उनले बताए ।

भोलिसम्म चल्ने महाधिवेशनमा देशभरबाट एक हजारभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस