चाँगुनारायण नगरपालिकाको स्थापना दिवसमा विभिन्न रत्न, विभूषण वितरण « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

चाँगुनारायण नगरपालिकाको स्थापना दिवसमा विभिन्न रत्न, विभूषण वितरण


२५ फाल्गुन २०७८, बुधबार


भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न रत्न एवं गौरव सम्मानबाट विभूषित गर्ने भएको छ ।

नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै नगरप्रमुख सोमप्रसाद मिश्रले सरकारले आफ्ना नागरिकलाई दिने विभिन्न विभूषणजस्तै नगरपालिकाले पनि आफ्ना नगरवासीका लागि रत्न, गौरव, ओजस्वीलगायतका विभूषणहरू प्रदान गर्ने निर्णय भएको बताए ।

नगरपालिकाको यही फागुन २७ गते सम्पन्न हुने पाँचौँ स्थापना दिवसका अवसरमा राष्ट्रियसभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट ‘चाँगुनारायण रत्न एक, चाँगुनारायण गौरव एक, चाँगुनारायण ओजस्वी प्रथम एक, द्वितीय दुई, तृतीय तीन, चाँगुनारायण स्वर्ण माला प्रथम एक, द्वितीय दुई, तृतीय तीन, चाँगुनारायण ज्ञान पुञ्ज प्रथम एक, द्वितीय दुई र तृतीय तीन गरी २० जनालाई विभूषण प्रदान गरिने बताए ।

विदेशमा रहेर ख्याति कमाएका चाँगुनारायणवासी तथा चाँगुनारायणको विकासमा विभिन्न क्षेत्रबाट उल्लेख्य योगदान गर्ने व्यक्तिलाई विभिन्न पदक एवं विभूषणबाट सम्मान गर्ने निर्णयअनुसार नगरपालिकाले बनाएको छनोट समितिले विभूषित हुने व्यक्तिको नाम छनोट गर्ने उनले बताए ।

त्यसै गरी नगरपालिकाको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने थप १० जनालाई ताम्र पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिने बताउँदै उनले यो विभूषण र सम्मानले नगरपालिकाको विकासमा लाग्न सबै क्षेत्रका व्यक्तिलाई थप प्रोत्साहन मिल्ने अपेक्षा राखिएको बताए ।

स्थापना दिवसकै दिन नगरपालिकाले बालमैत्री स्थानीय शासन लागू गर्दै नगरपालिकालाई उपत्यकाकै पहिलो ‘बालमैत्री नगरपालिका’ घोषणा गर्ने र सोही अवसरमा देशकै दोस्रो ‘कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त’ नगरपालिका घोषणा गरिने नगरप्रमुख मिश्रले बताए ।

कार्यक्रममा जनप्रतिनिधि आएपछि नगरपालिकामा भएका पाँच वर्षे उपलब्धिका कामहरू समेटिएर प्रकाशित गरिएको पुस्तक ‘चाँगुनारायण विकास दर्पण’ को सार्वजनिक पनि गरिनेछ । त्यस दिन नगरपालिका अन्तर्गतका अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय बन्द गरिने भएको छ ।

नगरपालिकाले नगर अस्पताल तथा स्वास्थ्य चौकीका अत्यावश्यक सेवाबाहेक नगरपालिकाभित्रका वडा कार्यालय, विभिन्न विभागीय कार्यालय, शाखा र विद्यालयहरू बन्द गरी कार्यक्रममा सहभागी गराउने निर्णय गरेको छ । कार्यक्रममा प्रत्येक वडाबाट झाँकीसहितको र्‍याली प्रदर्शन पनि गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस