मैले नजन्माएका छोरीहरू « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मैले नजन्माएका छोरीहरू


२४ फाल्गुन २०७८, मंगलबार


हाम्रो समाजले छोरालाई कुल दीपकको रूपमा मान्ने गरेको भएता पनि छोरी घरकी लक्ष्मी र दीपक दुवै हुन् । घरको प्राण हुन् । छोरी बिनाको घर नुन बिनाको तरकारी जस्तै फिक्का, अपुरो र अधुरो हुन्छ । घरको साज सज्जा एवं मान सम्मान नै छोरी हुन् । छोरी हुँदा घरको कुना काप्चा उज्यालोले धपक्क बलेको भान हुन्छ ।

हाम्रो दिमागले जे कुरालाई धेरै जोड दिएर सोचिरहेको हुन्छ त्यही नै सपनी बनेर आउने रहेछ । सपनीमा जहिले पनि सानी छोरी घरमा फुर् फुर् पर्दै यताउति कुँदेको र आफू पनि अत्यन्त खुसी भएर उसको बालापनमा रमाउँदै सरिक भएको देख्ने गर्छु । तर ब्युँझँदा फेरि निराश पनले डुबाउँछ । सपना त सपना हो तर पनि मन मान्दैन । सपनाकी सानी नानीको उमङ्ग, खुसी र निष्कपट हाँसोसँग मेरो नाता गाँसिसकेको छ । सुत्ने बेलामा जहिले पनि भगवानसँग प्रार्थना गर्छु कि आज पनि छोरी मेरो सपनीमा आओस् र म ऊसँग निर्धक्क भएर खेल्न पाउँ भनेर ।

उज्यालो बाटुलो अनुहार, अनारका दाना झैँ टम्म मिलेका दाँत, हाँस्दा गालामा बन्ने खोपिल्टा, मृगका झैँ लामा आँखाले मेरो मातृत्व स्नेह छचल्किएर उनी माथि पोखिने गर्छ । एक दिन सपनामा खेल्दै गर्दा अचानक उसले मलाई भनी “मामु म धेरै बाँच्न चाहन्छु, हजुर हुनुहुन्छ मलाई केही हुँदैन नि है” ।

मैले पनि उसको हो मा हो मिलाउँदै भने “हो नानु तिमी अहिले सानी छौ ठुलो हुन बाँकी नै छ । यो संसारमा तिमीले सफलताका पाइलाहरू चालेर उच्च शिखर चढ्नु छ, तिमी मेरी छोरी भएकोमा मैले गर्व बोध गर्नु छ, त्यसैले तिमी बाच्नु पर्छ र तिमीलाई बचाउने हर सम्भव प्रयास म गर्ने नै छु” ।

तर यसो भनिरहँदा मेरो मन आत्तिइरहेको थियो किनकि म आफै आफ्नै देश, समाज र आफ्नै परिवारबिच असुरक्षित महसुस गरिरहेको बेलामा कसरी छोरीलाई सुरक्षा दिन सक्छु भनेर । तीन वर्ष पनि नपुगेका दुधे बच्ची बलात्कार गरेर मार्ने मेरो देशमा मानवता हराई रहेको छ, नैतिकता गुमिरहेको छ, विवेक शून्य भइरहेको छ, अहंता र आपराधिक क्रियाकलाप बढिरहेको छ । यस्तो अवस्थामा छोरीको सुरक्षाको प्रश्न उठ्दा अचानक मेरो दिमाग रन्थनियो र “छोरी तिमिलाई म बचाउन सक्दिन” भन्न पुगेछु ।

मेरो कुरा सुनेर खेल्दै गरेकी छोरीको अनुहारबाट खुसी र हाँसो अचानक हरायो । जड बनी पत्थरको मूर्तिमा परिवर्तन भइन । म भने अँध्यारो खाईमा झर्दै गर्दा सपनाबाट ब्युँझिएँ । त्यस दिन देखि मैले नजन्माएकी मेरी सानी छोरी सपनामा आउन छोडिन् । जति सम्झेर सुत्दा पनि उनी आइनन् । उनलाई सपनीमा भेट्ने लालसाले सधैँ भगवान् पुकार्दै सुत्थे तर मेरी मायाकी खानी कता हराइन् थाहै भएन ।

एक दिनको कुरा हो, अचानक निर्मला, भगिरथी, सङ्गीता लगायतका छोरीहरू मेरो सपनीमा आए । सबै जना अत्यन्त दुःखी, दुब्ला, पातला ख्याउटे देखिएका थिए । उनीहरूलाई हेर्दा यस्तो लाग्यो कि वर्षौँदेखि भोकै छन् । शरीर सुकेर बाँसको भाटा जस्तो, अनुहार चाउरिएर मुजा परेको थियो । सुन्निएर फुलेका आँखाबाट बलिन्द्र आशुका धारा झर्ना बनी झरिरहेका थिए ।

पीडा र अपमानको ज्वालाले शरीर दन्किरहेको थियो । उनीहरूले मलिन एवं अँध्यारो अनुहार लगाउँदै एकै स्वरमा भने “आमा हाम्रो के दोष थियो र हामी मारियौँ ? हामी पनि सृष्टिकर्ता नै थियौँ, सबै पुरुषहरूलाई जन्म महिलाले नै दिने होइन ? हात समाएर हिँड्न र बोल्न सिकाउने पनि महिलाले नै होइन ? उनीहरूको बालापनमा आफूलाई चुर्लुम्म डुबाएर उनीहरूको सपनामा आफ्नो सपना देख्ने पनि महिला नै होइन र ? फेरि कहाँ गल्ती भयो ? नारी सर्बते पूज्यति भनेर किन भनेको ? यस्तो अपमानजनक मृत्यु हामीलाई किन लेखियो ? राज्य किन मौन छ, राज्यलाई किन दुख्दैन आमा ? हामीलाई निमोठेर मार्दा पनि यौन पिपासुहरू किन खुलेआम हिँडिरहेका छन् ? हाम्रो बाच्न पाउने अधिकार छैन ? असिना परे जस्तै गरी एक पछि अर्को गरी उनीहरूका प्रश्नहरू बर्सिँदै गए ।

म भने अवाक् भएर उनीहरूलाई हेरिरहे । अझ अगाडि उनीहरूले भने “आमा मृत्यु त सबैको एक दिन हुन्छ नै मारेका मात्रै भए पनि हुन्थ्यो तर किन हाम्रो शरीरमा उनीहरूको रजाइँ ? यो अपमानको पीडाले आत्मा भतभती पोलिरहेको छ, हामीलाई चैन छैन, जति गरे पनि यो पीडा र डाहाबाट मुक्ति पाउन सकेका छैनौँ । हामीलाई मुक्ति देऊ आमा । मुक्ति देऊ” उनीहरू एकै स्वरले डाको छोडेर रुन थाले । त्यो रुबाईमा विरह र असह्य वेदना थियो । म पनि उनीहरूसँग सँगै रुन पुगेछु । ब्युँझिँदा आशुले सिरानी निथ्रुक्क भिजेको थियो ।

महिला, किशोरी, बालिका एवं बृद्घहरु गाउँ गाउँमा, बाटोघाटो र घरमै बलात्कारको सिकार भई रहेका छन् । बलात्कार पछि पनि पोल खुल्ने डरले बीभत्स हत्या गर्ने तर्फ अपराधीहरू बढिरहेका छन् । कडा दण्ड सजायको अभाव, राजनीतिमा अपराधीकरण बढ्दै जाँदा र यस्ता अपराधहरूबाट सजिलै उन्मुक्ति पाउने भएबाट समाजमा महिला र बालिकाहरू असुरक्षित हुँदै गएका छन् । यस्ता अपराधको विरुद्ध राज्य र समाज ढाल बनी उभिएर पीडकलाई हदैसम्मको सजाय दिएर पीडितलाई न्याय दिनुपर्नेमा अपराधी खुल्ला खुल्ला हिँडिरहेका छन् भने पीडितले अमानवीय यातनाका साथ अपमानजनक मृत्युवरण खेप्नुपरिरहेको छ ।

अझ समाजका अगुवाहरूले बलात्कारीलाई जोगाउने, पीडित पक्षमाथि दबाब दिने, पञ्चायती बसेर मिलाउने, पीडक छाती फुलाएर हिँड्ने र पीडित लाञ्छित भएर अपमान र अन्यायको ज्वालामा दन्किनु पर्ने अवस्था छ । अहिलेको “पल” प्रकरणलाई नै हेरौँ न, मुलुकी अपराध संहिता, २०७४ को दफा (२१९)को २ बमोजिम कसैले मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ भन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि कार्यान्वयनमा समस्या आइरहेको छ । दोषी दुवै हुन तर पितृ पितृसत्तात्मक नजरको चस्माले हेरिएकोले पीडित बालिका बढी प्रताडित भइरहेकी छन् ।

नाबालकको उमेर घटाउने, बढाउने पक्षमा बहस भई रहेछ, उनलाई मात्र गलत ठहर्‍याइएको छ, इज्जत भन्ने शब्द उनको शरीरसँग मात्र जोडिएको छ । उमेरको कुरा गर्दा १८ वर्ष भन्दा कम उमेर परिपक्व निर्णय गर्न सक्षम नहुने हुनाले सरकारी जागिर खान, निर्वाचनमा उम्मेदवार बन्न र विवाह गर्न बन्देज लगाइएको हो । समाजलाई नैतिक रूपमा संचलान गर्न र पीडितलाई न्याय दिन यस्ता कानुन निर्माण गरिन्छन् । कानुनले दोषी मानेको व्यक्ति पुरुष भएकोले उसलाई फसाउने प्रयासको रूपमा चित्रित गरिँदै छ । जबकि पीडित पनि नाबालिग छन् उनले अपरिपक्व निर्णय लिइन् अब उनलाई न्याय दिनुपर्छ भन्नेतर्फ समाजको ध्यान जान सकेको छैन ।

कानुनले गर्न नहुने भनेको काम पीडकले गरेका छन् । देशको कानुन थाहा छैन भनेर कसैले पनि उन्मुक्ति पाउँदैन । तर उनैको पैरवी गर्नमा समाज लागि परेको छ । पीडितका बाबुआमासमेत अपमानको रापमा जलिरहेका छन्, दैनिक मर्दै बाँचिरहेका छन् । समाज भने पीडितलाई नै थप पीडा दिनमा व्यस्त छ ।

एकचोटि सबैले आफूलाई यो स्थानमा राखेर मात्रै हेरौँ त कस्तो हुन्छ ? आज हरेक छोरीका बाबु आमा एकातिर छोरीलाई पितृ पितृसत्तात्मक सोचको दोषी चस्माको हेराइबाट कसरी जोगाउने भन्नेमा चिन्तित छन् भने अर्कोतिर बलात्कार गरी मारिएका छोरीहरूको मृतात्माले न्याय र शान्ति नपाएकोमा छटपट्टिरहेका छन् । आफैलाई धिक्कारिरहेका छन् । अन्यायको ज्वालामा जिउँदो लास बनेर जलिरहेका छन् । निर्मला, भगीरथ, सम्झना, नमिता, सुनिता लगायतका ज्ञात एवं अज्ञात अन्य थुप्रै बलात्कार पछि बीभत्स हत्या गरिएका छोरीहरूका आत्माले धिक्कारेको मेरो देशमा छोरी नहुनेले आफूलाई भाग्यमानी ठान्नु पर्ने अवस्था आएको छ । पितृ पितृसत्तात्मक सोचको अन्त्य गर्नमा पहल गर्न सके मात्र नारी दिवसले सार्थकता पाउने छ, हैन भने नारामा मात्रै सीमित रहने गरी मनाइने नारी दिवसको कुनै औचित्य छैन ।

प्रतिक्रिया दिनुहोस