माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारी चयनमा अलमल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारी चयनमा अलमल


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज (सोमबार) बस्दै छ । यसअघि दुई पटक सारिएको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, नबसी आजका लागि सारिएको हो ।

गएको शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारानकाजी श्रेष्ठले धारणा राखेका थिए । बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय छ । आजको बैठकमा पदाधिकारी टुङ्ग्याउने नेताहरूको तयारी छ ।

गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुङ्गिएको थियो । २३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।

त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोभिड–१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो । माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस