बैतडीमा बजार अनुगमन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बैतडीमा बजार अनुगमन


२२ फाल्गुन २०७८, आइतबार


बैतडी । संयुक्त अनुगमन टोलीले जिल्लामा बजार अनुगमनलाई निरन्तरता दिएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गत हप्तादेखि सुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिइएको हो ।

जिल्लाको श्रीभावर, ढोल्यामोड, मोतीनगर, डिलाशैनी क्षेत्रका बजारमा अनुगमन गर्दा २४ व्यापारीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

डिलाशैनी क्षेत्रका आठ र बाँकी अन्य बजारका १६ गरी २४ व्यापारीलाई जरिवाना गरिएको हो ।

उनीहरुबाट रु ९० हजार जरिवाना असुल र रु ४५ हजार मूल्य बराबरको म्याद नाघेका सामग्री नष्ट गरिएको उनले बताए । उनले भने, ‘पहिलो पटक अनुगमन गर्दा सचेत गराउँछौँ । दोस्रो पटक पनि उपभोक्ता हित विपरीत सामग्री बिक्री वितरण गरिएको पाइए जरिवाना गर्ने गरेका छौँ ।’

अनुगमन टोलीले सात पसलबाट खाद्यवस्तुको नमुनासमेत लिइएको छ । अनुगमनका क्रममा म्याद नाघेको हो कि होइन भनेर थाहा हुन नसकेको चामल, दालको नमुना सङ्कलन गरिएको हो ।

उक्त सङ्कलित नमुना परीक्षणका खाद्य प्रविधि प्रयोगशाला पठाउने र अखाद्य निस्किए जरिवाना गरिने कार्यालयले जनाएको छ ।

सूचना अधिकारी भारतीका अनुसार कालोबजारी, म्याद नाघेका सामग्री बढी बिक्री वितरण भएको गुनासो आउने गरेकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको हो ।

टोलीले व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न तथा उपभोग्य मिति र लेबल हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिने र अनुगमनले व्यापारी र उपभोक्ता दुवै सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

यसअघि गौरा र दशैँतिहार लक्षित गरिएको बजार अनुगमनका क्रममा रु दुई लाख ५० हजार मूल्य बराबरका अखाद्य तथा म्याद गुज्रेका वस्तु बरामद गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस