स्थानीय तहको पाँच वर्ष : पूर्वाधार विकासमा प्रगति « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

स्थानीय तहको पाँच वर्ष : पूर्वाधार विकासमा प्रगति


२२ फाल्गुन २०७८, आइतबार


कावासोती । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल करिब सकिन लागेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

घोषणा गरिएको मितिमा निर्वाचन भए नयाँ जनप्रतिनिधिले आगामी जेठबाट स्थानीय तहको पाँच वर्षका लागि बागडोर समाल्ने छन् । पाँच वर्ष कार्यकाल समापन हुनै लाग्दा धेरैजसो स्थानीय तहले पूर्वाधार क्षेत्रको विकासमा उल्लेख्य फड्को मारेका छन् ।

तीमध्ये कावासोती नगरपालिकाले समेत पाँच वर्ष अवधि समापन हुनै लाग्दा सडक स्तरोन्नति, चक्रपथ, प्रशासनिक भवन, वडा कार्यालयको भवन, फोहरमैला व्यवस्थापन केन्द्र र वन्यजन्तुको क्षति न्यूनीकरणका लागि पर्खालसहितको मेसजाली निर्माणलगायत काममा प्रगति हासिल गरेको छ ।

कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले आफ्नो कार्यकालमा ६४ दशमलव ५ किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिइन् । करिब १२८ किलोमिटर सडक ग्राभेल तथा स्तरोन्नति र नगरका विभिन्न स्थानमा गरी १० किलोमिटर पिच सडक मर्मत गरिएको उनले बताइन् । उनले भनिन्, ‘सडक पूर्वाधार निर्माणले ग्रामीण भेगको पहुँच बजार र राजमार्गसँग सहज रुपमा भएकाले यसले हरेक क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास छ ।’

यसैगरी करिब ६७ दशमलव ८ किलोमिटर पक्की नाला तथा नगरको विभिन्न वडामा गरी ९५ वटा कल्भर्ट निर्माण सम्पन्न गरेको नगरपालिकाले जनाएको छ ।

नगरका विभिन्न स्थानमा एक हजार ९०० वटा सडक बत्ती जडान गर्नुका साथै ८०० विद्युत् पोलसहित विभिन्न स्थानमा विद्युतीकरको कार्यसमेत सम्पन्न भएको प्रमुख पुनले बताइन् । नगरभित्रका साना बाटोमा मोजाइक टायल लगाउने कामसमेत गरिएको उनले बताइन् ।

चालु आवमासमेत विभिन्न साना बाटोमा यो कार्य भएको उनको भनाइ छ । नगर गौरवको योजनको रुपमा रहेको कावासोती चक्रपथको हालसम्म १० किलोमिटर सडक कालोपत्र भएको छ भने नगरपालिकाको प्रशासनिक भवनसहित वडा नं ४, ५, ७, ८, ९ र १५ को कार्यालय भवन निर्माण सम्पन्न भएका छन् । त्यस्तै वडा नं १, २, ३, ६, ११, १३ र १६ को कार्यालय भवन चालु आवमा सम्पन्न हुने लक्ष्य राखिएको नगर प्रमुख पुनले बताइन् ।

आफ्नो कार्यकालमा नगर स्तरमा दिगो फोहरमैला व्यवस्थापनका लागि फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण सम्पन्न भई फोहरमैला व्यवस्थापनको कार्य अगाडि बढाइएको नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारुले बताए । मध्यवर्ती क्षेत्रमा हुने वन्यजन्तुको क्षति रोक्न १९ किलोमिटर क्षेत्रमा पर्खालसहितको मेसजाली निर्माण गर्ने काम विभिन्न वडामा भएको उनले बताए ।

आफ्नो कार्यकालमा विपन्न समुदायको आवास व्यवस्थापनका लागि हालसम्म ८८ वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । चालु आवमा १७ घर निर्माण गरी हस्तान्तरण गरिने उपप्रमुख मर्दनिया थारुले बताए।

आफ्नो कार्यकालमा कभर्ड हलको निर्माण सम्पन्न भएको उनको भनाइ छ । वडा नं ६ को विष्णुनगर चौर क्षेत्रलाई नगर स्तरीय रङ्गशाला निर्माण गर्न गुरुयोजना निर्माण गरी काम सुरु गरिएको उल्लेख गर्दै उनले पोखरी तालको गुरुयोजना निर्माण गरी बाटो तथा पार्क स्तरोन्नतिमा काम भएको उनले जानकारी दिए ।

नगरभित्र अत्याधुनिक कोल्ड स्टोर निर्माणका लागि बजेट विनियोजन, वडा नं १७ मा सामुदायिक बीउ बैङ्क निर्माण, सय भन्दा बढी मन्दिर, २५ भन्दा बढी सामुदायिक एवम् क्लबको भवन स्तरोन्नति तथा नयाँ निर्माण गरिएको छ । वडा नं ३, ५, ८ र १२ मा गुम्बाको निर्माण तथा स्तरोन्नति गरिएको उपप्रमुख मर्दनिया थारुले बताए ।

उनका अनुसार नगरपालिकाले साविकका गाविस भवन रहेका वडा कार्यालयको स्तरोन्नति गरिएको छ । आदिवासी थारु सङ्ग्रहालयको भवन स्तरोन्नति गर्नुका साथै रेडक्रससँगको सहकार्यमा ब्लड बैङ्क तथा आपतकालीन भण्डारणका लागि गोदाम निर्माण गरिएको उपप्रमुख मर्दनिया थारुले बताए ।

एक वडा एक खेल मैदानअन्तर्गत नगर क्षेत्रभित्रका खेल मैदान स्तरोन्नति कार्यको सुरुआत गरिएको, हरित सहर निर्माण अभियानअन्तर्गत विभिन्न वडाभित्रका मूल सडक दायाँबायाँ वृक्षारोपण गरिएको छ । खानेपानी कार्यालयसँगको सहकार्यमा वडा नं ३ मा ओभरहेड टङ्की निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

यसैगरी वडा नं ४, १२, १३ र १७ मा खानेपानी ट्याङ्की तथा वडा नं ४ को चिलाहा खानेपानी आयोजनामा पाइपलाइन विस्तार गरी डिप बोरिङ सञ्चालनमा रहेको छ । साथै वडा नं १५ मा खानेपानी पहुँच विस्तारका लागि पाइपलाइन विस्तारको कार्य गरिएकोसमेत नगर उपप्रमुख मर्दनिया थारुले बताए ।

यसैगरी जनतालाई सुविधा दिन न्यूनतम आवश्यकताको पहिचान गरी सोही अनुसार काम गरेको उनको भनाइ छ । ‘हामीले सामान्य खालका योजनालाई समेत अगाडि बढायौँ, जुन योजनाले आम नागरिकलाई सहज पुर्‍याउने खालका थिए’, उनले भने, ‘स्थानीय सरकारको आफ्नो सामर्थ्य अनुसारको काम गर्न हामी चुकेका छैनौँ भन्ने लागेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस