म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने कार्यविधि तयार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

म्यादी प्रहरीलाई १ हप्ता तालिम दिने कार्यविधि तयार


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ ।

प्रधान कार्यालयले केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव यसअघि नै पठाएको थियो । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीलाई एक साताको तालिम चलाउने कार्यविधि तयार गरिएको छ ।

नियुक्ति गर्ने दिनको आधारमा तालिम चलाइने प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताए ।

७ दिनको तालिममा म्यादी प्रहरीलाई अनुशासन र भीड नियन्त्रणबारे सिकाइन्छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतका अनुसार आफूभन्दा सिनियरलाई सलाम गर्ने तरिका, लौरो चलाउने र भीड नियन्त्रण गर्ने तरिका सिकाउने गरी कार्यविधि तयार गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बस्ने केन्द्रीय सुरक्षा समितिले त्यसबारे निर्णय गरेपछि म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु हुन्छ । म्यादी प्रहरी ५० दिन निर्वाचनको सुरक्षामा खटिन्छन् । २०७४ मङ्सिर मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ९९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । सो चुनावमा ०.२ प्रतिशत अर्थात् ७ सय जना पूर्व सुरक्षाकर्मी म्यादी प्रहरीमा भर्ना भएका थिए ।

म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादी सहित प्रहरी परिचालन र गाडी खरिद गर्न करिब १२ अर्ब बजेट चाहिने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस