पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग निगमको पुनः माग « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग निगमको पुनः माग


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेपाल आयाल निगमले भारतीय आयाल कर्पोरेसन (आईओसी)लाई पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग पुनः रकम माग गरेको छ ।

पेट्रोलियम खरिदको भुक्तानी गर्न रकम नपुगेपछि मूल्य स्थिरीकरण कोषबाट रकम जुटाइ दिन मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ । निगमले एक महिनाको अवधिमा दोस्रो पटक थप रकम मागेको हो । अपुग ४ अर्ब रुपैयाँ माग गरेर मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ ।

आगामी २४ फागुनमा आईओसीलाई बुझाउनु पर्ने इन्धन खरिदको २५ अर्ब रुपैयाँका जोहो गर्न रकम अभाव भएपछि ४ अर्ब रुपैयाँ रकम जुटाइ दिन निगमले सरकारसँग माग गरेको हो । अहिले खरिद गरेर बिक्री गरेको इन्धनबाट प्राप्त रकमले भुक्तानी गर्न नपुगेको बताइएको छ ।

कुल १३ अर्ब रहेको यस्तो कोषबाट यसअघि नै एक अर्ब ८० करोड रुपैयाँ निगमले लगिसकेको छ । जनवरी महिनाको पहिलो किस्ता बुझाउन गत फेब्रुअरीमा उक्त रकम लिएको थियो । पेट्रोलियम पदार्थको बढ्दो मूल्य र उपभोक्ता मूल्यको अन्तर चिरेर मूल्य वृद्धि रोक्न वाणिज्य सचिवको अध्यक्षता रहेको यो कोषमा अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सहसचिव सदस्य रहन्छन् ।

८ र २३ मार्चमा गरी दुई किस्तामा आईओसीलाई झण्डै २५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ । मंगलबार भारतीय आयाल निगमबाट प्राप्त नयाँ मूल्य अनुसार १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ अतिरिक्त भार थपिएको छ । यस अघि नै ४६५ रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको खाना पकाउने ग्याँसमा थप एक सय रुपैयाँ घाटा थपिएको निगमले जनाएको छ । यस्तै पेट्रोलमा २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा १६ रुपैयाँ हाराहारी घाटा भएको निगमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस