शिवरात्रिका दिन काठमाडौँका कुन–कुन ठाउँमा सवारीसाधन चलाउन निषेध ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शिवरात्रिका दिन काठमाडौँका कुन–कुन ठाउँमा सवारीसाधन चलाउन निषेध !


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । भोली शिवरात्रिको दिन पशुपति क्षेत्रमा हुने भीडभाड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ । शिवरात्रिमा हुने भीड व्यवस्थापनका लागि पशुपति आसपासमा सवारीसाधनमा रोक लगाइएको हो ।

पशुपति क्षेत्र विकास कोषले ५० लाख दर्शनार्थीले मंगलबार पशुपति दर्शन गर्ने सम्भावना रहेको बताएकाले त्यसको व्यवस्थापनका लागि ती क्षेत्रमा सवारी चलाउन रोक लगाइएको हो । पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पुरानो वानेश्वरदेखि चावहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ । यद्यपि भीड व्यवस्थापन गर्न सम्भव भएसम्म तिलगंगादेखि चावहिलसम्मको चक्रपथ क्षेत्रको आधा भागमा सवारी चल्न दिने तयारी छ ।

शिवरात्रिको दिनमा ट्राफिक व्यवस्थापनका लागि सिनामंगलदेखि गौशाला हुँदै चावहिलसम्मको चक्रपथ क्षेत्र प्रभावित हुनेछ । सो क्षेत्रभित्र सवारी व्यवस्थापनको लागि सवारीसाधन प्रवेश निषेध गरिएको छ । त्यस्तै पुरानो वानेश्वर, भीमसेन गोला, सिनामंगल हुँदै तिलगंगासम्मको बाटोबाट सवारी प्रवेश निषेध गरिएको छ । धोवीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पनि पशुपतितर्फ जाने सवारीसाधनलाई प्रतिबन्ध लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै चावहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि सवारीलाई पशुपति क्षेत्रभित्र प्रवेश नदिइने ट्राफिक प्रहरीले जनाएको छ ।

सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र सुरक्षा निकायका सवारीको लागि महानगरीय प्रहरी वृत्त गौशलामा राख्ने व्यवस्था मिलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस