ओली आएपछि त सिध्याइदिन्छन् : माधव नेपाल « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

ओली आएपछि त सिध्याइदिन्छन् : माधव नेपाल


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई सिद्ध्याउन खोजेको तर आफूहरूले बचाएको बताएका छन् ।

एमसीसीलाई सैन्य रणनीतिको अङ्ग बनाउने कागजमा ओली नेतृत्वको सरकारका मन्त्री प्रदीप ज्ञवालीले हस्ताक्षर गरेको र विमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेना पनि सहभागी गराउने भनेर ओलीले तयारी गरेको भन्दै आफूहरूको विरोधका कारण त्यो रोकिएको उनले बताए ।

पार्टी निकट प्रगतिशील प्राध्यापक सङ्गठनको कार्यक्रमलाई शनिवार काठमाडौँमा सम्बोधन गर्दै नेपालले भने, ‘केपी ओलीले सिद्ध्याइसकेका थिए नेपाललाई । ‘केपी आएपछि त सिध्याइदिन्छन् ।’

एमसीसीको सवालमा यथास्थितिमा पास गर्न नसक्ने आफूहरूको स्पष्ट धारणा रहेको उनले बताए । ‘एमसीसीको सन्दर्भमा हाम्रो कुरा के हो भने त्यो विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्दछ । यो अनुदान रकमको रूपमा हुनुपर्दछ, वैदेशिक लगानीको रूपमा होइन,’ उनले भने ।

पूर्व प्रधानमन्त्री नेपालले अगाडि भने, ‘त्यसमा आईपीएसको हिस्सा बनाउने कुनै कुरा स्वीकार्य हुँदैन । नेपाल कुनै पनि ब्लकमा, सैनिक रणनीतिमा वा सुरक्षा रणनीतिको अङ्ग हुन सक्दैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस