गुणस्तरहीन बनाएको भन्दै डोजर लगाएर कालोपत्रे सडक मेयर आफैले भत्काए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गुणस्तरहीन बनाएको भन्दै डोजर लगाएर कालोपत्रे सडक मेयर आफैले भत्काए


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । गुणस्तरहीन सडक बनेको भन्दै बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले आफैँ लागेर कालोपत्रे सडक भत्काएका छन्।

मापदण्ड विपरीत सडक निर्माण भएको भन्दै वडा नम्बर ८ को प्रगति नगर शंखरवाडी टोल जाने कालोपत्रे सडक डोजर लगाएर भत्काएको नगरप्रमुख सिवाकोटीले बताए।

नगरपालिकाका इन्जिनियर, प्राविधिकसहित निर्माणाधीन कालोपत्रे सडकको अनुगमनका लागि पुगेका नगरप्रमुख सिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन कालोपत्रे सडक बनाएको भन्दै सडक भत्काउनु परेको बताए। उनले भने, ‘सम्झौता विपरीत गुणस्तरहीन सडक बनाउने छुट कुनै ठेकदारलाई छैन, ठेकेदार कम्पनीले सम्झौता अनुसार अब सडक बनाउनुपर्छ।’

२५० मिटर लम्बाइ, २० फुट चौडा उक्त कालोपत्रे सडकको ठेक्का इलामको सिद्विथुम्का निर्माण सेवा प्रालिले १३ लाख ८५ हजार ३ सय १२ रुपैयाँमा लिएको थियो। उक्त निर्माण कम्पनीसँग बिर्तामोड नगरपालिकाले असार २ गते सम्झौता गरेको थियो।

ठेक्का सम्झौता अनुसार २०७९ असार २ गतेसम्ममा सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो।

नगरप्रमुख सिवाकोटीले शुत्रबार डोजर लगाएर भत्काउन निर्देशन दिएपछि स्थानीय उपभोक्ता भने खुसी भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस