नबुझी प्रदर्शन नगर्न महामन्त्री शर्माको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नबुझी प्रदर्शन नगर्न महामन्त्री शर्माको आग्रह


८ फाल्गुन २०७८, आइतबार


झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गरेका छन् ।

झापाको विर्तामोडमा सिके प्रसाईँको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसिसीबारे स्पष्ट धारणा राख्दै आएको बताए ।

सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसिसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दरिलो स्रोत हुने दाबी गर्दै शर्माले भने, ‘एमसिसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।’

उनले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताएका छन् । उनले सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पारे ।

‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसिसीको प्रक्रिया अघि बढेको हो’, शर्माले भने, ‘प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठ पनि सरकारमा हुनुहुन्थ्यो । अहिले त्यसको विरोध किन ? रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईंहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाईंहरू तयार हुनुहुन्छ ?’

उनले देशको समृद्धि र विकास लागि सिके प्रसाईँको शालीनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नुपर्नेमा जोड दिए। प्रजातान्त्रिक समाजवाद, वाक एवं अभिव्यक्ति स्वतन्त्रताका लागि जीवनभर सङ्घर्ष गरेका सिके प्रसाईँले पञ्चायती शासनमा लामो समय निर्वासनको सजाय भोग्नुपरेको थियो भने सर्वस्वहरणमा परेका थिए ।

समाजवादी विचारकको रूपमा रहेका सिकेले आफ्नो जीवनकालमा लेखेका विचारलाई समेटेर ‘आजको सरल राजनीति र सिकेका विचार’ नामक कृति प्रकाशन भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस