शेर बहादुर दाइलाई कालापानी किन दुख्दैन ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शेर बहादुर दाइलाई कालापानी किन दुख्दैन ?


४ फाल्गुन २०७८, बुधबार


तत्कालीन नेकपा एमालेका नेता स्व.प्रेमसिंह धामीको “कालापानी काठमाण्डौलाई किन दुख्दैन” शीर्षकमा जनआस्था साप्ताहिक पत्रिकामा एउटा लेख प्रकाशित भएपछि दार्चुला जिल्लाको कालापानी क्षेत्रका बारेमा नेपाल सरकार तथा सर्वसाधारण नेपालीमा व्यापक रूपमा सोधिखोजीको विषय बनेको थियो ।

भौगोलिक रूपमा निकै दुर्गम तथा नेपाल सरकारको ध्यान नगएको कालापानी क्षेत्रका बारेमा स्व.प्रेमसिंह धामीको सो आलेखले नेपाल सरकारको पनि ध्यान आकर्षित भएको थियो । त्यसपछि पनि कालापानी क्षेत्रका बारेमा दार्चुलाबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका तत्कालीन नेता स्व.वीर बहादुर ठगुन्नाले पनि पटक पटक आवाज उठाउँदै आउनु भएको थियो भने हाल प्रतिनिधि सभामा दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य गणेश सिंह ठगुन्नाले पनि प्रतिनिधि सभामा कालापानी लिम्पियाधुरा लिपुलेक नेपाली भूमि भएको र नेपाल सरकारले कालापानी क्षेत्रलाई फिर्ता ल्याउन र भारतीय सुरक्षा बल फिर्ता गर्न तथा उसको प्रशासनिक हस्तक्षेप बन्द गर्नका लागि आवाज उठाई रहनु भएको छ ।

२०४८ सालदेखि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभामा लगातार जित्दै आउनु भएको छ । शेर बहादुर देउवा २०४८ सालमा देश कै शक्तिशाली गृह मन्त्री हुँदै त्यसपछि पाँच पटक प्रधानमन्त्री भई सक्नु भयो भने नेपाली काँग्रेसमा पनि उहाँ सधैँ मुख्य भूमिकामा नै रहँदै आउनु भएको छ तर सुदूरपश्चिम प्रदेश अशिक्षा, गरिबी, विभिन्न कुरीति, विकासमा पिछडिएको क्षेत्रको प्रायः को रूपमा रहँदै आएको छ । सुदूरपश्चिम उहाँको प्राथमिकतामा कहिल्यै पनि परेको देखिँदैन ।

नेपाली काँग्रेसका नेता कार्यकर्ता शेर बहादुर देउवालाई “शेर बहादुर दाइ” भनेर सम्बोधन गर्छन् । शेर बहादुर दाइले अत्तरिया देखि डडेलधुरा सम्मको भिमदत्त राजमार्ग, कर्णाली चिसापानी पारिका २२ वटा पुलहरु बनाउन पहल गर्ने काम बाहेक सुदूरपश्चिम प्रदेशको विकासका पूर्वाधारहरूमा त्यस्तो चर्चा गर्न लायक केही गरेको देखिँदैन ।

हालसम्म जति पटक प्रधानमन्त्री हुनु भयो शेर बहादुर दाइले सुदूरपश्चिम प्रदेशमा भारतले गर्दै आएको दादागिरीको नतमस्तक भएर त्वमशरणम् गर्नु बाहेक केही गरेको देखिँदैन । चाहे त्यो महाकाली सम्झौता तथा टनकपुर सम्झौता होस् या कालापानी क्षेत्रको बारेमा नै किन नहोस् उहाँले कहिल्यै पनि यस प्रदेशको बारेमा चासो राख्नु भएन ।

करिब ७५ प्रतिशत सुदूरपश्चिमबासीहरु भारतका विभिन्न शहरहरुमा न्यून पारिश्रमिकमा तल्लो दर्जाको मजदुरी दरवानी गर्न बाध्य भए पनि शेर बहादुर दाइले यस क्षेत्रमा रोजगारीका अवसरहरू सृजना गर्ने कुनै काम गर्नुभएन । भारतको थिचोमिचो सहेर बस्न बाध्य यस प्रदेशका जनताका लागि शेर बहादुर दाइ “कागलाई बेल पाक्यो हर्ष न बिस्मात” हुनु भएको यहाँका बासिन्दाको बुझाई भइसक्यो ।

हरेक सुदूर पश्चिमेली जनताहरूको एउटा प्रश्न छ, शेर बहादुर दाईलाई सुदूरपश्चिम प्रदेश किन दुख्दैन ? शेर बहादुर दाईलाई कालापानी लिपुलेक लिम्पियाधुरा किन दुख्दैन? शेर बहादुर दाइले २०४८ सालमा नेपाली काँग्रेसको नेताको रूपमा डडेलधुराबाट निर्वाचित भई गृह मन्त्री हुनु भयो । त्यसपछि पटक पटक सबै निर्वाचनमा डडेलधुरा, कैलाली, कञ्चनपुरबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आउनु भयो । सुदूरपश्चिम प्रदेशका जनताले शेर बहादुर दाईलाई कहिल्यै पनि तिरस्कार गरेनन् तर शेर बहादुर दाइ काठमाण्डौको भिडमा काठमाण्डौका शासकहरूसँग हातेमालो गर्दै रमाउने, ज्योतिष हेराउने र ज्योतिषको भनाइमा रमाउँदै आउनु भयो । अहिले पनि उहाँ प्रधानमन्त्री भएको ६ महिनाभन्दा बढी भई सक्दा पनि कतिपय सीमित नेपाली काँग्रेसका नेता कार्यकर्ता बाहेक समग्र सुदूरपश्चिम प्रदेशबासीहरुका लागि वा समग्र राष्ट्रका लागि गौरव गर्न लायक कुनै एउटा काम गर्न सक्नु भएको छैन अर्थात् अझै पनि शेर बहादुर दाईलाई सुदूरपश्चिम दुःखेको देखिँदैन, राष्ट्र दुखेको देखिँदैन ।

शेर बहादुर दाइ जति पटक प्रधानमन्त्री हुनुहुन्छ सुदूर पश्चिमेली जनताहरूका लागि प्रधानमन्त्रीको जिल्ला, प्रधानमन्त्रीको क्षेत्र भनेर चित्त बुझाउनु बाहेक अरू केही देखिँदैन । सुदूरपश्चिमका नेपाली काँग्रेस तथा वर्तमान सरकारको गठबन्धन सम्बद्ध नेता कार्यकर्ताहरूले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई जतिसुकै गाली गरे पनि वास्तवमा कालापानी केपी ओलीलाई दुखेको प्रमाणित भएको छ ।

सरकारको नेतृत्व गर्दा होस् वा बाहिर प्रतिपक्षमा रहँदा पनि केपी ओलीले पटक पटक भन्दै आउनु भएको छ कि नेकपा एमालेले कालापानी लिपुलेक लिम्पियाधुरा फिर्ता गरेरै छाड्छ । केपी ओली भन्नुहुन्छ कालापानी समस्या होइन भारतसँग कालापानीका बारेमा डायलग गर्नुपर्छ र फिर्ता ल्याउन पहल गरिनुपर्छ, समस्या भनेर टार्न पाइँदैन । तर शेर बहादुर दाइ कालापानी समस्या हो भनेर झारा टार्ने काम गर्दै आउनु भएको छ । प्रतिपक्षमा रहँदा पनि शेर बहादुर दाइले अन्तिम समयमा राष्ट्रिय सहमति हुँदै गर्दा कालापानी लिपुलेक लिम्पियाधुराका बारेमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी. ओलीलाई समर्थन जनाउनु भएको पक्कै थियो तर आफू सरकारमा गइसकेपछि कालापानी समस्या भन्दै आउनु भएको छ ।

शेर बहादुर दाईलाई सुदूरपश्चिमेलीहरुले सधैँ आदर गरे, जहिले पनि नेता माने, जहिले पनि उच्च सम्मान दिए । तर शेर बहादुर दाइको केबल सत्ता साझेदारी, सत्ता लिप्सा, विदेशीहरुसंग सत्ता साट्ने, प्रजातन्त्र धरापमा पार्ने काममा बाहेक सुदूरपश्चिमका लागि कहिल्यै ध्यान गएको देखिएन । शेर बहादुर दाईका कारणले हामी सुदूरपश्चिमेलीहरुको शिर ठाडो हुने अवस्था कहिल्यै आएन । देउवा दाइ कै कार्यकाल २०५० सालमा सुदूरपश्चिमको महाकाली भारतलाई बेच्ने कार्य भयो । २०५३ सालमा पजेरो काण्ड, जम्बो मन्त्रिमण्डल, सांसद खरिदबिक्री, सांसदका लागि सुरासुन्दरी जस्ता कार्य शेर बहादुर दाईका पर्याय रहे । शेर बहादुर दाइले नै २०५८ सालमा प्रजातन्त्र दरबारमा बुझाउनु भयो । २०५८ सालमा स्थानीय निकायको निर्वाचन नगरी स्थानीय निकाय प्रतिनिधि विहीन बनाउनमा शेर बहादुर दाइ कै हात रह्यो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रमा सडक विस्तार भई रहेको भन्दै गर्दा शेर बहादुर दाइ चुप लागेर बस्नु भएको छ । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाका जयसिंह धामीलाई दिनदहाडै महाकाली नदीमा तुईन तर्दै गर्दा तुईन काटेर बेपत्ता पार्ने भारतीय दादागिरीको बारेमा झारा टार्ने गरी एउटा छानबिन समिति गठन गर्नुहुन्छ, त्यो छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुहुन्न र भारतलाई खुसी पार्ने गरी समितिको प्रतिवेदन ल्याउनुहुन्छ ।

भारतलाई खुसी पार्नका लागि मृतकका परिवारलाई केही रकम दिएर घटना ढाकछोप गर्ने प्रयास गर्नुहुन्छ । २०५८ सालमा स्थानीय निकायको निर्वाचन नगराएर करिब २० वर्ष स्थानीय सरकार विहीन बनाउने शेर बहादुर दाइ नै हुनुहुन्छ । आजको दिनमा २०७९ ज्येष्ठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने नगर्ने बारेमा शेर बहादुर दाइ सक्लान् नसक्ला वा के होला द्विविधा बाहेक केही देखिएको छैन । देशवासीको नाममा दिनु भएको सम्बोधनमा निर्वाचनका लागि तयार रहन भने पनि सत्ता गठबन्धनको सल्लाह बाहेक बाहिर जाने अङ्कगणित नभएका कारण फेरी पनि शेर बहादुर दाइले देशलाई सङ्कटमा धकेल्ने त होइनन् आम नेपाली जनताले शङ्काले हेरिरहेको छ ।

अन्त्यमा उमेरले जीवनको उत्तरार्धमा रहनु भएका शेर बहादुर दाईलाई सुदूरपश्चिमबासीहरुको एउटै प्रश्न छ किन तपाईँलाई कालापानी लिपुलेक लिम्पियाधुरा दुख्दैन? किन तपाईँलाई सुदूरपश्चिम दुख्दैन? किन सुदूरपश्चिमको गरिबी, भोग रोग, अशिक्षा दुख्दैन? शेर बहादुर दाइ उठ्नुहोस् एक पटक, अहिले तपाई सरकारको प्रमुख हुनुहुन्छ सत्ता गठबन्धनको शक्तिशाली नेता, नेपाली काँग्रेसको शक्तिशाली सभापति हुनुहुन्छ ।

विकासमा निकै धेरै पछाडि परेको सुदूरपश्चिमलाई देशको मूल धारमा ल्याउनका लागि केही गर्नुहोस् । उठ्नुहोस् देउवा दाइ, सुदूरपश्चिमका लागि जाग्नुहोस् । भारतलाई लेख्नुहोस् कूटनीतिक नोट, कालापानी लिपुलेक लिम्पियाधुरा फिर्ता गर्नका लागि, लेख्नुहोस् कूटनीतिक नोट जयसिंह धामीलाई महाकालीमा बेपत्ता पार्ने भारतीय सीमा सुरक्षा बलका जवानलाई कारबाही गराउनका लागि र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति दिलाउनका लागि ।

(लेखक नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका अध्यक्ष हुन् )

Tags :
प्रतिक्रिया दिनुहोस