म्याग्दीको रघुगङ्गा गाउँपालिका कुइनेमङ्गलेमा सञ्चार सुविधा नहुँदा समस्या « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

म्याग्दीको रघुगङ्गा गाउँपालिका कुइनेमङ्गलेमा सञ्चार सुविधा नहुँदा समस्या


३ फाल्गुन २०७८, मंगलबार


म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा सञ्चार सुविधा विस्तार नहुँदा स्थानीयवासीलाई सूचना आदान–प्रदान गर्न समस्या भएको छ ।

कुइनेमङ्गलेवासी आधुनिक सूचना प्रविधिको सुविधा उपभोग गर्नबाट बञ्चित भएका हुन् । चौरखानी, मङ्गलेखानी, घ्यासीखर्क, पात्लेखर्क, दुवाडी, डाढ, खरिबोट, याङ्लेका बासिन्दा मोबाइलमा कुरा गर्नका लागि डाँडा र रुख चढ्नुपर्ने बाध्यता रहेको चौरखानीको रघुगङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रमान छन्त्यालले बताए ।

‘डाँडामा पुगेपछि अलि–अलि टावरले टिप्छ, त्यो पनि आवाज राम्रो आउँदैन’, उनले भने, ‘चिच्याइचिच्याई बोल्नुपर्छ । अहिलेको आधुनिक जमनामा आधारभूतजस्तै भएको सञ्चार सुविधाबाट बञ्चित हुनुपर्ने दुःखलाग्दो अवस्था छ ।’

घ्यासीखर्कका रमेश तुलाचनले गाउँ बाहिर रहेका परिवारका सदस्य, आफन्त र साथीभाइसँग मोबाइलमा कुराकानी गर्न मोबाइलको टावरले टिप्ने चिमखोलाको गौडामुनी पुग्न एक घण्टा हिँड्नुपर्ने बताए । महत्वपूर्ण सूचना आदान–प्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै कोही रुखमा पनि चढ्ने गरेका छन् ।

अग्ला रुख र डाँडामा अलिअलि मात्र टावरले टिप्छ । सबैको हात–हातमा मोबाइल भए पनि त्यो गीत सुन्न, भिडियो हेर्न, तस्वीर, भिडियो खिच्नका लागि मात्र सीमित छ ।

पाखापानीको कमनाथमा नेपाल टेलिकमको बिटिएस टावर छ । कुइनेमङ्गलेको छिमेकी वडा चिमखोला गाउँमा पनि मोबाइल फोन सेवा सहज छैन । सबै ठाउँमा मोबाइलको टावरले भनेको समयमा टिप्दैन ।

विभिन्न बस्तीमा २५० भन्दा बढी घरधुरी रहेको कुइनेमङ्गलेमा निर्माणाधीन मङ्गले राहुघाट र ठूलोखोला जलविद्युत् आयोजनाका मजदुर, कर्मचारी र प्राविधिकलाई पनि सञ्चार असुविधाले समस्या बनाएको छ ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले मोबाइल सेवा विस्तारका लागि वर्षौँदेखि नेपाल टेलिकममा ताकेता गरिए पनि ढिलाइ गरेका बताए । कुइनेमङ्गले र चिमखोलामा मोबाइल सेवा विस्तारका लागि गाउँपालिकाले तीन वर्षअघि तीन लाख खर्च गरेर चिमखोलाको डाँडामा गार्डघर बनाइदिएको थियो ।

सञ्चार असुविधाका कारण सेवा प्रवाह र सूचना आदान–प्रदानमा धेरै दुःख भएको छ । एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौँ हिँडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ ।

सूचना प्रवाह गराउन अझै टोल–टोलमा परम्परागत कटुवाल प्रथाको साहरा लिनुपरेको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताए ।

नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले भौगोलिक विकटता, विद्युत् अभाव र सामाजिक समस्याले ढिलाइ भएको सो टावर आगामी बर्खाअघि नै सञ्चालन गरिने बताए ।

चिमखोलाबाट टावर रहने ठाउँसम्म विद्युत् पुर्याउन नेपाल विद्युत प्राधिकरणलाई १६ लाख बजेट उपलब्ध गराइसकेको उनले बताए ।

‘कोरोनाको महामारीका कारण विदेशबाट उपकरण ल्याउन ढिलाइ गरेका ठेकेदारलाई पूर्वाधार बनाउन पठाउँदा स्थानीयवासीले आफैँ काम गर्छौँ भनेर फर्काए तर गरेनन्’, उनले भने, ‘उपकरण आइसकेको छ । विद्युत् पुग्यो भने टावर सञ्चालन हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस