सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले हस्ताक्षर सङ्कलन गर्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले हस्ताक्षर सङ्कलन गर्दै


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता पक्षका ९८ सांसदले आइतबार महाअभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा नेकपा एमाले ‘काउन्टर महाअभियोग’ को तयारी गरेको छ । विशेष गरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलनको गृहकार्य थालेको छ ।

सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको एमालेले त्यहीँबाट हस्ताक्षर सङ्कलन गर्ने र महाअभियोगको प्रस्ताव तयार पार्ने तयारी गरिरहेको एमालेका एक नेताले बताए । संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन एमालेले आइतबार नै आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ ।

आइतबार साँझ पार्टी अध्यक्ष केपी ओलीको निवासमा बसेको एमाले सचिवालयको बैठकले चोलेन्द्रशमशेर जबरामाथि लागेको महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो । सोही प्रतिवादको तयारीका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको हो ।

​उता सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका छन् । सभामुखले बोलाएको बैठक बहिस्कार गर्ने निर्णय गरेको एमालेले २ बजे अगाडि नै सभामुखविरुद्ध संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको एमालेको उच्च स्रोतले जानकारी दियो ।

सांसदहरूको हस्ताक्षर सङ्कलन गर्न लागिए पनि क–कसलाई महाअभियोग लगाउने भन्नेबारे अहिलेसम्म प्रस्ट नभएको एमालेका एक सांसदले बताए ।

त्यसो त एमालेले केही महिना अगाडि पनि सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको थियो । तर, त्यो सूचीमा हाल एकीकृत समाजवादीतिर लागेका जीवनराम श्रेष्ठहरूको समेत नाम रहेकाले नयाँ कागजमा हस्ताक्षर सङ्कलन गर्न लागिएको एमालेका एक नेताले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस