दमौली । व्यास नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ ।
नगरपालिकाले आजदेखि नगरक्षेत्रभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको हो ।
पहिलो चरणमा आज व्यास नगरपालिका–२ स्थित जनजागृति टोलमा निर्माण गरिएका संरचना हटाइएको छ ।
स्थानीय विक्रम श्रेष्ठ, भरत पोख्रेल, मनबहादुर रुचाल, राजेन्द्र श्रेष्ठ, कला श्रेष्ठ र उत्तरशिला टोलस्थित वृषराज श्रेष्ठले निर्माण गरेका संरचना वडाध्यक्ष काशिराम श्रेष्ठको उपस्थितिमा नगरपालिकाले भत्काएको छ ।
सार्वजनिक जग्गामा निर्माण गरिएका घर टहरा भत्काउन पटक–पटक पत्राचार गर्दा पनि नभत्काएपछि नगरपालिकाले डोजर लगाएर भत्काइदिएको नगरपालिकाका घर नक्सा शाखाका नासु भाग्यशाली ढुङ्गानाले जानकारी दिइन् ।
नगरपालिकाले गत पुस २२ गते १५ दिनको सूचना प्रकाशित गरी सार्वजनिक जग्गा मिची निर्माण गरिएका घर टहरा हटाउन सम्बन्धित व्यक्तिलाई सूचित गरेको थियो ।
उक्त सूचना जारी भएको एक महिना पुग्दा पनि नगरपालिकाले निर्णय कार्यान्वयन नगरेको भन्दै सञ्चारमाध्यमको तर्फबाट दबाब सिर्जना गरिएपछि नगरपालिकाले घर टहरा भत्काउन थालेको हो ।
नगरक्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना हटाइने नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले सार्वजनिक जग्गा संरक्षण गर्नु सरकारको दायित्व भएकाले अतिक्रमण गरी बनाइएका घर टहरा भत्काइने जानकारी दिए ।
नगरपालिकाका अनुसार व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको छ । साथै व्यास नगरपालिका–१ र १० मा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ ।
नगरभित्र सरकारी जग्गा मिचेर १४ वटा घर निर्माण भएको छ । ४८ वटा संरचना अनियमित तरिकाले बनेका छन्, त्यसमध्ये १४ वटा संरचना जग्गा अतिक्रमण गरेको बनेको नगरपालिकाले जनाएको छ ।