काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से १६.३० अङ्कले घटेको छ । सो अङ्कको कमीपछि परिसूचक २८३५ अङ्कमा कायम भएको छ । कारोबार खुलेको ५ मिनेटमै परिसूचक बढेर २९२१ अङ्कसम्म पुगे पनि त्यसपछि अन्तिम समयसम्म ओरालो लाग्यो ।
कुल ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि हिजो (सोमबार) ५ अर्ब २ करोडको कारोबार हुँदा परिसूचक १५ अङ्कले बढेको थियो ।
आज बैङ्किङ ६, विकास बैङ्क ५१, फाइनान्स ९, जलविद्युत ५३, जीवन बीमा १६८, माइक्रोफाइनान्स ३५ र अन्य उपसमूह २ अङ्कले घटे । त्यस्तै व्यापार २, निर्जीवन बीमा ५६, उत्पादन २७ र होटल तथा पर्यटन ३ अङ्कले बढे ।
कुल ४० कम्पनीको मूल्य बढ्यो भने १४० कम्पनीको घट्यो । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो । नेपाल इन्स्योरेन्स कम्पनीको मूल्य सबैभन्दा धेरै ३.८३ प्रतिशतले बढ्यो ।
लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै ६.२७ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा अरुणभ्याली हाइड्रोपावर, अपी पावर, निफ्रा, माथिल्लो तामाकोसी र जलविद्युत लगानी तथा विकास कम्पनी क्रमश: अगाडि रहे ।