डोटी । कामका लागि भारतमा गइ त्यहीँ बेपत्ता भएका यहाँको पूर्वीचौकी गाउँपालिका–२ भारतोलीका ५५ वर्षीय गगनसिंह साउद (गगु) का परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
गाउँमा रोजगारी नपाएपछि काम खोज्न छिमेकी मुलुक भारत गएका उनी एकाएक बेपत्ता भएपछि घरपरिवारमा दैनिक छाक टार्नसमेत समस्या भएको भन्दै गाउँकै युवाको समूह मिलेर उनको परिवारको लागि आर्थिक सहयोग सङ्कलन गरिएको थियो ।
युवाको सहयोगमा सङ्कलन गरिएको १६ हजार ५०० उनकी श्रीमतीलाई हस्तान्तरण गरिएको स्थानीयवासी पदमसिंह साउदले बताए । उनले भने, ‘कामका लागि भारत गएका गगनसिंह बेपत्ता भएको महिनौँ भयो, घरमा खानपानीका लागि समस्या भएपछि युवाले आर्थिक सहयोग जुटाएका थिए । वितरण गरिएको छ, परिवारलाई केही राहत भएको छ ।’
गगनसिंह करिब दुई महिनादेखि भारतको महाराष्ट्र डौनखड्की भन्ने ठाउँबाट बेपत्ता भएका उनको घर परिवारले जनाएको छ ।
गगनसिंह बेपत्ता भएका विषयमा महाराष्ट्र डौनखड्कीमा रहेका नेपालीले त्यहाँको प्रहरी चौकीमा सूचना दिएको र सामाजिक सञ्जालमा सूचना सार्वजनिक गरे पनि हालसम्म कुनै खबर प्राप्त हुन नसकेको स्थानीवासी तथा सञ्चारकर्मी टेक साउँदले जानकारी दिए ।
कामका लागि भारत गएका दर्जनौँ डोटेली वर्षौदेखि बेपत्ता भएका सामाजिक क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था निड्स नेपालले जनाएको छ ।
भारतमा हराएकाको खोजी कार्यका लागि पहल भइरहेपनि उनीहरू कहाँबाट हराएका हुन भन्ने विषयमा एकिन जानकारी नहुँदा समस्या हुँदै आएको सो संस्थाका डोटी प्रमुख दीर्घराज ओझाले जानकारी दिए ।