हिमपातले अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

हिमपातले अवरुद्ध जयपृथ्वी राजमार्ग चार दिनपछि खुल्यो


२३ माघ २०७८, आइतबार


बैतडी । हिमपातका कारण अवरुद्ध बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज चार दिनपछि खुलेको छ ।

बिहीबारदेखि अवरुद्ध उक्त राजमार्ग आज मध्याह्न १२ बजेदेखि सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उक्त राजमार्गको खोड्पे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायत स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबारदेखि बाटो बन्द रहेको थियो । खड्काले भने, ‘दुई स्काभेटरको प्रयोग गरी राजमार्ग सञ्चालन गरिएको छ, यसअघि लगातारको हिमपात र सडकमा बाक्लो हिउँ जमेकाले ढिलाइ भयो ।’

राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरालगायत बैतडी र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवाहक तथा मालवाहक सवारी साधन आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।

यसअघि बिहीबारदेखि नै अवरुद्ध रहेको यहाँका दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग भने शुक्रबार दिउँसोपछि सञ्चालन भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस