शिक्षामन्त्री पौडेल र विश्वविद्यालयका पदाधिकारीबीच अस्पताल सञ्चालनबारे छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शिक्षामन्त्री पौडेल र विश्वविद्यालयका पदाधिकारीबीच अस्पताल सञ्चालनबारे छलफल


२२ माघ २०७८, शनिबार


कास्की । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले पोखरा विश्वविद्यालयका पदाधिकारीसँग पोखरामा छलफल गरेका छन् ।

आगामी दुई महिनाभित्र विश्वविद्यालयले सञ्चालनमा ल्याउन लागेको शिक्षण अस्पताल तथा विश्विद्यालयका अन्य शैक्षिक कार्यक्रमका बारेमा नीतिगत छलफल गरिएको हो ।

विश्वविद्यालयले पोखरा–३० स्थित खुदीमा शिक्षण अस्पताल सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको छ । विश्वविद्यालयका रजिष्ट्रार दीपक भण्डारीले १०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि पूर्वाधार तयार भइसकेको जानकारी दिए ।

उनका अनुसार सुरुआतमा अस्पतालमा ओपिडी (बहिरङ्ग) र आकस्मिक सेवा सञ्चालनमा ल्याइने र छ महिनाभित्रमा १०० शय्या पूरा गरिनेछ । उनले भने, ‘विश्वविद्यालयमा स्वास्थ्य विज्ञानका नर्सिङ, फार्मेसी र ल्याब टेक्नोलोजीका कोर्स सञ्चालन भए पनि आफ्नै अस्पताल नहुँदा अन्य अस्पतालमा लगेर अभ्यास गराउने गरेका थियौँ । अब आफ्नै अस्पताल सञ्चालन गर्न पूर्वाधार तयारी अवस्थामा छ, केही दिनमा चिकित्सकलगायत जनशक्तिको विज्ञापन गर्दैछौँ ।’

विश्वविद्यालयले गण्डकी प्रदेश र यस आसपासका क्षेत्रका मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्ने र अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने बारेमा समेत छलफल भएको रजिष्ट्रार भण्डारीले जानकारी दिए । विश्वविद्यालयसभाले नयाँ विषय र मेडिकल कलेजको सम्बधन दिने विषयमा समेत निर्णय गरिसकेको छ ।

छलफलमा मन्त्री पौडेलले भौतिक पूर्वाधार, नयाँ विषय र अन्य विश्वविद्यालयमा भन्दा फरक पाठ्यक्रम तयार गरेर बजारको मागअनुसारका विषय अध्यापन गर्न सुझाव दिए । उनले विश्वविद्यालयको शैक्षिक र भौतिक सुधारका लागि कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग थप छलफल गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले भने, ‘विश्वविद्यालय सुधारका लागि अन्य विश्वविद्यालयका पदाधिकारीसँग छलफल भइरहेको छ । नयाँ योजना र नीतिगत विषयलाई जोड दिनुस्, आवश्यक परे प्रधानमन्त्रीसँग कुरा गर्छु ।’

छलफलमा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याललगायत सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस