काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हिजो (बिहीबार) रातिदेखि नै मुलुकभरको मौसममा बदली भएको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन र चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षा भइरहेको छ । विभिन्न स्थानमा बाक्लो हिमपातका कारण यातायात अवरुद्ध भएका छन् । साथै हिमाली तथा पहाडी भेगको जनजीवन प्रभावित भएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन /चटयाङ र असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
शुक्रबार राति पनि प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन /चटयाङ र असिना हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
शनिबारदेखि भने मौसममा सुधार आउने महाशाखाको भनाइ छ । शनिबार दिउँसो मुलुकका केही भागमा हल्का वर्षाको सम्भावना भए पनि रातिदेखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
भारी वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।