गाउँ–सहर सडक सञ्जालले जोडिँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गाउँ–सहर सडक सञ्जालले जोडिँदै


१९ माघ २०७८, बुधबार


फुङ्लिङ । मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गरिन् । आधा उमेर गइसकेपछि मात्र उनले गाडी देख्न पाइन् । जमानामा उनी ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै पुगेकी थिइन् । अहिले घरको आँगनबाटै दैनिक १०–१२ गाडी ओहोरदोहोर गरेको हेर्दै उनी विगतका दिन सम्झिरहन्छिन् ।

‘खानेकुरा लिन धरानसम्म पैदल हिँडेरै पुग्थ्यौँ तर अहिले घरघरमै आइपुग्दा अचम्म लागेको छ’, उनी भन्छिन् । विगतमा दुई दिन पैदल हिँडेर माइती गएकी फक्ताङलुङ गाउँपालिका–६ फेम्बूकी बेलिता लिम्बूलाई सोमबार बिहान आफ्नो माइतीमा आमा सिकिस्त बिरामी भएको खबर भयो । उनी आफ्नो जन्म दिने आमालाई भेट्न सोमबार बिहानै घर नजिकैबाट गाडी चढिन् । दश घण्टा गाडीमा यात्रा गरेपछि उनी आफ्ना माइतीघरमा आमालाई भेट्न सिरिजङ्गा गाउँपालिका–६ मामांखे पुगिन् । पहिले त ठुलो जङ्गल र पहाड पार गर्दै जानुपर्ने भएकाले बाटामा खाजा, खाना पहिले नै तयार गरेर आफैँले बोकेर ४७ घण्टा पैदल हिँडेपछि माइती पुगिन्थ्यो ।

दैनिक खाद्य सामग्री लिनका लागि वर्षमा दुई पटक सदरमुकाम फुङ्लिङ पुग्ने फक्ताङ्लुङ गाउँपालिका–६ का दावा शेर्पा आजभोलि किनमेलका लागि सदरमुकाम पुग्न छाडिसके । अहिले उनकै घर आँगनमा सडक पुगेको छ । दैनिक उपभोग्य वस्तु गाडीले आँगनमै पुर्‍याइदिन्छ ।

गत वर्षसम्म गाडी चढ्न र दैनिक आवश्यकताका सामग्री लिन सिरिजङ्गा गाउँपालिका–६ मामाखे गाउँका मानिस खाम्देम्बेसम्म एक दिनसम्म पैदल हिँडेर पुग्नुपर्थ्यो । गत हप्तादेखि मामाङ्खे गाउँमा सडक पुगेको छ । लामो समयपछि मामाङ्खे गाउँमा सडक पुग्दा गाउँबासी खुसी भएको सिरिजङ्गा–६ का वडाध्यक्ष सुखराज लिम्बूले बताए । सिनाम–सिरिजङ्गा गाउँपालिका केन्द्र तेल्लोक हुँदै विश्वको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासम्म सडक पुर्‍याउने प्रदेश नं १ सरकारले परिकल्पना गरेको छ । त्यसैले सिनाम–सिरिजङ्गा गाउँपालिका केन्द्र तेल्लोक हुँदै नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा सडकखण्डका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले रु एक करोड दश लाख बजेट विनियोजन गरेको र काम भइरहेको वडाध्यक्ष सुखराजले बताए।

गत हप्ता सिरिजङ्गा–६ मामाङ्खे गाउँ सडक सञ्जालले जोडिएसँगै ताप्लेजुङका सबै वडामा सडक पुगेको छ । साठी वडामा अगाडि नै सडक सञ्जालले जोडिएको थियो । गत हप्ता मात्र सिरिजङ्गा –६ वडाको सिमानामा सडक प्रवेश गरेपछि जिल्लाका सबै वडामा सडक पुगेको हो । यसरी तीन तहका सरकारका सक्रियतामा दुर्गम र सहरी क्षेत्र सडक सञ्जालले जोडिँदै गएका छन् । ताप्लेजुङका गाउँगाउँ सडक सञ्जालमा जोडिएसँगै बिस्तारै सुगममा रुपान्तरण हुँदै गएका छन् । मुलुक सङ्घीय संरचनामा गएपछि स्थानीय, प्रदेश र केन्द्र सरकारको निर्वाचन भएको आगामी असारमा पाँचवर्षे कार्यकाल सकिँदै छ ।

ताप्लेजुङका नौ स्थानीय तहमा कुल ६१ वडा छन् । अहिले सबै वडा सडक सञ्जालले प्रत्यक्ष जोडिएको छ । मिक्वाखोला– ५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सिमानामा सडक प्रवेश गरेको छ । मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु लामाले वडा कार्यालयसम्म पुग्न केही समय लाग्ने भए पनि आफ्नो वडा सडकले जोडिएको बताए ।

स्थानीय तहले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिकता दिएकाले दुर्गम बस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको हो । जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायलाई दिनचर्यामा सहजता आएको छ । जिल्लाका सबै वडामा सडक पुगेसँगै गाउँगाउँमा गाडीका लागि टिकट काउन्टर खुलेको छ । सदरमुकामदेखि विभिन्न गाउँगाउँमा दैनिक सार्वजनिक ट्याक्सी लाग्ने गरेको छ । कच्ची र साँगुरो बाटो भएकाले ठुलो सीटका बस भने जान सकिरहेका छैनन् ।

आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा सञ्चालन हुन थालेको छ । मेरिङ्देन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै बिर्तामोड–दमक– विराटनगर बस सेवा सञ्चालन भइरहेको छ । सिरिजङ्घा गाउँपालिकाको खाम्देम्बे बजारदेखि विगतदेखि नै बिर्तामोड–दमक–विराटनगर बस सेवा सञ्चालन भइरहेको छ । सिदिङ्वा गाउँपालिका केन्द्रदेखि पनि अन्य जिल्लामा यातायात सेवा सञ्चालन भइरहेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले जिल्लामा १७६ योजना छनोटमा पारेकामा २० सडक आयोजना थिए । प्रदेशकै गौरवको आयोजनाअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि पाथीभरा याङ्वरक र सिरिजङ्घा गाउँपालिका हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने पर्यटकीय सडक आयोजना निर्माण भइरहेको छ । सो सडक अहिले सिरिजङ्गा–६ मामाखे गाउँमा निर्माणाधीन छ ।

क्षेत्रफलको हिसाबले जिल्लाकै ठुलो गाउँपालिका फक्ताङ्लुङ– ७ ओलाङ्चुङ्गोला मित्र राष्ट्र चीनसँग प्रत्यक्ष सडक सञ्जालले जोडिएको छ । ओलाङ्चुङ्गोलादेखि २४ किलोमिटर तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ । उता सुनसरीको चतरादेखि राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर सडक चीनसँग जोडिन २ किमी मात्र बाँकी रहेको उत्तर–दक्षिण राजमार्गको कार्यालय ताप्लेजुङका सूचना अधिकारी माधव पौडेलले बताए ।

राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर अहिले चीनको सीमावर्ती क्षेत्रमा प्रवेश गरेको छ । चीन र भारतलाई जोड्ने कोरिडोरअन्तर्गत नेपालको अन्तिम बस्ती तथा चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङ्चुङ्गोला क्षेत्रमा काम भइरहेको छ । कोरिडोरको अन्तिम साधारण मार्ग खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्ने एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताए । तमोर नदी पार गरेर नदीको किनार हुँदै चीन रिउ बजारसँग कोरिडोरले जोडिने छ ।

चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङ्चुङ्गोला हुँदै गैरीपाटीसम्म ३५ किमी लम्बाइ ट्र्याक चीनको निर्माण कम्पनीले दुई वर्ष अगाडि नै खोलिसकेको छ । सुनसरी जिल्लाको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर हुँदै ताप्लेजुङ जिल्लाको फक्ताङलुङ–७ ओलाङ्चुङ्गोलाका सुकेपानी र मगावाबीचमा अहिले काम भइरहेको छ । अहिले काम भइरहेको ठाउँदेखि गैरीपाटी पुग्न दुई किमी रहेको आयोजनाका सूचना अधिकारी पौडेलले बताए ।

कोरिडोरले भारतको जोगबनीदेखि प्रदेशको राजधानी विराटनगर हुँदै भारत र चीनसँग प्रत्यक्ष सडक सञ्चालनले जोड्ने सूचना अधिकारी पौडेलले बताए । चतारादेखि ओलाङ्चुङ्गोलासम्ममा २३० किमी पर्छ । ओलाङ्चुङ्गोलादेखि टिप्ताला नाकासम्म २४ किमी पर्छ । तमोर कोरिडोरको जम्मा २५४ किमी पर्छ । यसमा २५४ किमीमा चोतारादेखि टिप्पताला नाकासम्म पर्छ । प्रदेश नं १ को राजधानी विराटनगरको नाका भारतको जोगबनीदेखि ६० किमीमा चतरा पर्छ । तीन सय १४ किमीले भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने आयोजनाको कार्यालय ताप्लेजुङले जनाएको छ ।

ओलाङ्चुङगोला हुँदै चीन जोड्ने तमोर कोरिडोरको ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । धनकुटाको मूलघाटबाट खन्न सुरु गरिएको सो सडकको अहिले ताप्लेजुङ हुँदै नेपाल –चीन सिमाना ओलाङ्चुङ्गोलासम्ममा काम भइरहेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए ।

तीन ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट तमोर कोरिडोर निर्माण अघि बढाइएको थियो । सबै ब्लकमा पहिलो काम ट्र्याक खुलाइएको थियो । अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको ओलाङ्चुङ्गोलाको सुकेपानीदेखि गैरीपाटीसम्मको दुई किमी काम मात्र बाँकी रहेको पौडेलले बताए । करिब १८० किमी लम्बाइको सो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका–२ देखि पाँचथरको लुबुघाट–माझीटार –ताप्लेजुङ छिचोलेर ओलाङ्चुङ्गोला हुँदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्ने छ । सो सडकखण्डमा विभिन्न आकारका १० पुल निर्माण हुने क्रममा रहेको आयोजनाले जनाएको छ ।

विसं २०६५ मा तमोर कोरिडोर निर्माण सुरु भएको थियो । त्यतिखेर सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । विसं २०६७ मा सो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषणा गरी निर्माण अघि बढाइएको छ । भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । सो सडक निर्माण गर्न अहिलेसम्म रु ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । सो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगबनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिने छ ।

तमोर कोरिडोरले प्रदेश नं १ को समृद्धिको ढोका खोल्ने सञ्चारकर्मी वसन्त लिम्बूले बताए । अहिले पाँचथरको जोरसालदेखि धनकुटाको मूलघाट हुँदै प्रदेशको पर्यटकीय क्षेत्र भेडेटार, धरान, प्रदेश राजधानी विराटनगर हुँदै नेपाल र भारतको नाका जोगबनीसम्म दैनिक यातायात सञ्चालन हुँदै आएको छ । रमणीय दृश्यावलोकन गर्नका साथै छिटो गन्तव्यमा पुगिने भएकाले यात्रुको रोजाइमा तमोर कोरिडोर पर्दै गएको लिम्बूले बताए ।

पाँचथरको माझीटारदेखि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—३ थिबा खोलासम्म ६० किमी ग्राभेलका लागि ठेक्का सम्झौता भइसकेको आयोजनाले जनाएको छ । ग्राभेल हुने बित्तिकै ताप्लेजुङका समुदायलाई राहत मिल्ने छ । साथै ताप्लेजुङ जिल्लाको पर्यटन विकास र प्रवर्द्धनमा फड्को मार्ने ताप्लेजुङ जिल्लाबासीले विश्वास लिएका छन् ।

विगतका दिनमा यातायात नहुँदा जनतालाई विशेषतः बिरामी हुँदा समयमै अस्पतालसम्म पुर्‍याउन समस्या झेल्नु थियो । गाउँमा सडक नपुग्दा डोकामा बोकी दुई/चार दिन पैदल हिँडेर अस्पतालसम्म पुग्नुपर्ने समस्या थियो । समयमै अस्पताल पुर्‍याउन नसक्दा गाउँबासी धेरैले ज्यानसमेत गुमाउने परेको फुङ्लिङ नगरपालिका– ११ का टेकबहादुर विष्टले बताए । विगतमा आवश्यक खाद्य सामग्री ढुवानी गर्न धेरै समस्या थियो । अहिले भन बिस्तारै गाउँगाउँमा सडक सञ्जालले जोडिएसँगै सहजता भएको विष्टले बताए । गाउँगाउँमा सडक पुगेसँगै आठ स्थानीय तहले आफ्नो गाउँपालिकाभित्रका समुदायलाई एम्बुलेन्स सेवासमेत दिँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस