प्रतिध्वनि : सामाजिक उपन्यास “नूतन” माथि पाठकीय दृष्टि « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रतिध्वनि : सामाजिक उपन्यास “नूतन” माथि पाठकीय दृष्टि


१३ माघ २०७८, बिहिबार


नेपाली साहित्यको उपन्यास विधामा साहित्यकार ऋषिराम भुसालको नयाँ कृति ‘नूतन’ ले प्रवेश गरेको छ । निजामती सेवामा आवद्ध साहित्यकार ऋषिराम भुसालका मुक्तकहरू बिभिन्न अनलाइनहरूका साथै साहित्यिक प्रकाशनहरूमा प्रकाशित भइरहेका छन् र मुक्तककारका रूपमा ऋषिराम भुसाल यौटा परिचित नाम बनिसकेको पाइन्छ ।

सामाजिक उपन्यास ‘नूतन’ चाहिँ लेखक ऋषिराम भुसालको पहिलो उपन्यास हो र यो कृति पाठकको कसीमा कस्तो रहला भन्ने स्वाभाविक जिज्ञासा थियो मलाई पाठकको रूपमा, त्यो जिज्ञासा अझै पनि रहेको छ।

‘नूतन’ उपन्यास हात पर्दाको खुशी विशेष थियो मेरा लागि ! तत्काल सामाजिक सञ्जालमा पुस्तकको आवरण राखेर भनेको थिएँ: “अनेक कारण हुन सक्छन खुशीका लागि, तर मुख्य दुई छन; पहिलो त हाइस्कूल पढ्दाताका चालिसको दशकको मध्यान्तर अघि नै भेटेको, चिनेको, त्यसपछि केही हल्का संगत पनि गरेको मित्र ऋषिराम भुसाल अहिले नेपाली साहित्य सागरमा उपन्यासकारको रूपमा हाजिर भएको सुखद संयोग छ यतिखेर । उपन्यास लेख्नु सामान्य सृजनात्मक लहड र रहरको विषय हुन सक्दैन भन्नेमा म विश्वास गर्दछु, मेरो मन खुशीले चङ्गा हुँदा टेकेको पहिलो दलिन यो थियो । र, दोस्रो,मेरो ज्ञानको राडरले भेटेसम्म भौगोलिक हिसाबले केही विकट र पूर्वाधार विकासका दृष्टिले अलि पछाडि परेको तर प्राकृतिक, सामाजिक र चेतनाका हिसाबले अब्बल पश्चिम गुल्मीको सिङ्गो पुर्कोट र मदाने क्षेत्रका साथै आसपासमा रहेका अर्घाखाँची र प्युठानका सीमावर्ती भेगबाट समेत नेपाली साहित्यको उपन्यास विधामा यो नै पहिलो कृति हुनुपर्छ ! सलाम छ लेखकलाई र हार्दिक बधाई पनि ! ‘नूतन’ सँग त बिस्तारै परिचय हुदैछ, पाठकीय विचार राख्ने नै छु !”

उपन्यास पढि सकेपछि अहिले मेरो ‘नूतन’ सँग पुरापुर चिनापर्ची भइसकेको छ । यस अर्थमा म आफ्नो स्वघोषणा बमोजिमको दायित्त्व पूरा गर्ने क्रमको सङ्घारनेर छु । सिङ्गो कथा मस्तिष्कमा कहिले रिवाइण्ड गर्छु, कहिले फास्ट फरवार्ड । तर म समालोचक वा समीक्षक होइन पाठकको रूपमा ‘नूतन’ कृति प्रतिका मेरा पाठकीय दृष्टि अर्थात् प्रतिध्वनि समेट्ने प्रयत्नमा छु ।

लेखक भुसालद्वारा लिखित सामाजिक उपन्यास ‘नूतन’ले पश्चिम गुल्मी र निकटवर्ती प्युठानको सेरोफेरोबाट उठान भएको ग्रामीण परिवेशको कथावस्तुलाई समेटेको छ, जुन समयको बहावसँगै फैलिँदै, बयलिँदै यता बुटवल, नारायणगढसम्म पुगेको छ भने उता प्रवासमा पञ्जाबदेखि मुम्बई हुँदै दुबईसम्म पुगेको छ। समयका हिसाबले ‘नूतन’ मा विक्रमाब्दको चालिसको दशकदेखि साठीको दशकसम्मको यौटा कालखण्डको नेपाली समाजको सजीव चित्रण पाइन्छ।

उपन्यासमा तिलस्मी कथा छैनन् । कुनै रेशमी सपनाहरूको लम्बेतान बखान छैनन् । छैनन् कुनै विचार, सिद्धान्त र दर्शनका ठेलीबाट अनूदित विद्वत“क्याप्सुलहरू” ! छन् त केबल ‘नूतन’ भित्र निरन्तर अग्लिरहने दु:खका पहाड छन्, के बर्खा के हिउँद पहिरो गइरहने विश्वासका पखेरा छन्, र यता थुन्यो उता भत्कने, उता थुन्यो यता भत्कने मनका बाँधहरू छन् । तर उकालो चढ्दा कतै शीतल चौतारी पनि छन् – सुस्ताउन, र कतै ढूङ्गाको कापबाट कलकल मुलको पानी बगिरहेछ – प्यास मेटाउन !

आम नेपाली ग्रामीण जीवनका दु:खसुख, पीडा र रोदनको बीचबाट हुर्कदै बढ्दै जीवनप्रति अनौठो आशावादिता र आशक्तिसँगै पर दूर क्षितिजमा देखिने स्वर्णिम उज्यालोप्रतिको अटल लगाव र प्रेम, अनि त्यसकै प्राप्तिका लागि गरिने निरन्तर संघर्ष र गतिशीलताको जीवन गाथा हो ‘नूतन’ !

नूतन जन्मदा आमाको मृत्यु हुन्छ । बुवा पारिवारिक ऋण कटाउन नसकेर पहिले नै परदेश लागेका हुन्छन र उतै बेपत्ता हुन्छन् । नूतनको पालनपोषण मामाघरमा हुन्छ । दु:ख सही खूशीका दिन थिए ती । मामाले पहिलो श्रीमति मृत्यु भइसकेकोले दोस्रो बिहे गर्छन् र त्यसपछि शुरु हुन्छ नूतनको कष्टपूर्ण जीवन यात्रा । कथाले उनलाई बुटवल पुराउँछ, जहाँ उनी आफ्नै सानीआमाको घरमा घरेलु कामदारको रूपमा रहेकी छन् ।

जीवन त्यहाँ नर्कतुल्य हुन्छ । जसोतसो उनी त्यहाँबाट उम्केर नारायणगढमा पुग्छिन र रेस्टुरेन्टमा काम गरेर जीवन धान्छिन् । पढाइप्रतिको उत्कट चाहना र भोकले गर्दा नूतन बुटवलमा हुँदादेखि नै घरभित्रै दाइको सहयोगले लेखपढ गर्न थालेकी हुन्छिन, नारायणगढ पुगेपछि त पढाइ, जागिर र उनको जीवनमै नयाँ मोड आउँछ । पिछडिएको समुदायमा हुर्के बढेकी र एक समय बन्दी जस्तो जीवन भोगेकी नूतन आफ्नै कर्मशीलता र शुभेच्छुकहरूको साथले मानव बेचबिखन विरुद्धको सामाजिक सञ्जालमा गाँसिन पुग्छिन ।

अनेक उतारचढावका बीच उनको मेहनत र इमानदार प्रयत्नले नूतन एक होनहार सामाजिक अभियन्ताको रूपमा चिनिन्छिन् र उनको कामले अन्तर्राष्ट्रिय मञ्चमा समेत पुग्छिन् । पानीका छालजस्तै लाप्पा खेल्दै दु:ख र खुशी आउँछन् नूतनको जीवनमा ! अन्य पूरक कथाहरू पनि यस उपन्यासमा मुख्य कथालाई सघाउने गरी प्रविष्ट भएका छन् ।

लेखकले यस उपन्यासमा कथावस्तुको मिहिन योजना बुनेका छन् । पात्र चयन र औचित्य पनि सटिक रूपमे प्रस्ट्याउन सकेका छन् । कथामा जोडिने स्थान विशेषको प्रसङ्गमा त्यहाँको स्थानीय जानकारी बडो सुस्पष्ट ढङ्गले प्रस्तुत भएको पाइन्छ, चाहे त्यो गुल्मी र प्युठानका ठाउँहरूको प्रसङ्ग होस चाहे बुटवल, नारायणगढ अथवा मुम्बइ या दुबई नै होस, त्यहाँका पाखापखेरा, बाटाघाटा, बस्ती, सडक, गल्ली आदिका चित्र पाठकको मानसमा स्थापित हुने गर्दछन् ।

पाठकको हिसाबले हेर्दा लेखकका लागि आगामी दिनमा थप प्रभावकारी लेखनका लागि केही उपयोगी धारणा पनि छन् । यी मेरा निजी बुझाइ हुन्, म सिद्धान्तको कसीमा बसेर यो लेखिरहेको छैन ।

उपन्यासको भाषा शैलीमा प्रचूर आञ्चलिकता वा भनौं स्थानीयताको प्रभाव पाइन्छ । लुम्बिनीको गुल्मी र प्युठानको सीमावर्ती क्षेत्रमा प्रयोग हुने शब्दावली र लवज टिपिएको छ । दार्जिलिङको पात्र पनि परेकाले त्यताको भाषा नि झल्कन्छ । त्यो आकर्षक छ । तर अलि खड्कने कुरा भनेको उपन्यास अघि बढ्दै जाँदा जुन पात्र बोलेको, तिनले अभिव्यक्ति दिएको स्थानमा पात्र विशेष लवज नभएर लेखक आफै बोलेको भान हुन्छ, यस्तोमा पात्र बोल्नु बेस हुन्छ । बोलीले पात्रको पहिचान हुने अवस्था हुन सके त्यसको प्रभाव उम्दा हुन्छ । कतिपय अवस्थामा पात्रको बुझाइको स्तरभन्दा गह्रौं शब्दावली र भाव प्रकट भएका पाइन्छ ।

कतिपय अनुच्छेदहरू बढी विवरणात्मक छन् । भन्न खोजेको गुदी कुरो बुझिने गरी वातावरण तयार पार्ने र बिस्तारै त्यो विषय बुझाउने धैर्यता रहेको पाइदैन, अपितु छिटोछिटो विवरणात्मक ढङ्गले कथावस्तु अघि बढ्छ । यो शैली समाचार लेखनमा त उपयुक्त नै होला तर साहित्य सृजनामा अलि गति, यति र गुरूत्त्व अपेक्षित हुन्छ जस्तो लाग्छ । यसको अर्थ फेरि ठ्याक्कै यही हुनुपर्छ र यस्तै हो भन्ने पनि होइन, त्यसो भन्न मिल्दैन होला पनि । हरेक लेखकका आ-आफ्ना लेखन शैली हुन्छन् र तिनले नै निजत्त्व सृजना गर्ने हुन् । नभए हरेक सर्जक कसरी पृथक परिचयसाथ प्रस्तुत हुन सक्ला !

ऋषिराम भुसालद्वारा लिखित सामाजिक उपन्यास ‘नूतन’को कथावस्तु आम प्रकारको छ र त्यो कारुणिक छ, प्रस्तुति सिलसिलेवार र व्यवस्थित छ अनि भाषाशैली सरल, सहज र बोधगम्य छ । समग्रमा जीवन र जीवनहरूले भोगेको पीडा छ, व्यथा छ, संघर्ष छ, आँट छ, हौसला छ, आशा छ, विश्वास छ, सङकल्प छ, जीवनका आरोह अवरोहसँगै आहत जीवनले रङ्ग थप्न पाएको सुखान्त कथा छ ‘नूतन’ मा ।

Tags :
प्रतिक्रिया दिनुहोस